अपडेट 
२०८१ श्रावण १, मंगलवार ०८:३४

सरकारले चितवनको  नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र बसमा सवार धेरै जसो यात्रु फेला पार्न नसकेपछि भारतीय सहयोग लिने पहल थालेको छ ।

गत शुक्रबारदेखि नेपालमा उपलब्ध उपकरणहरू तथा जनशक्तिले खोजी तथा उद्धार गर्दा पनि प्रभावकारी हुन नसकेपछि भारतको सहयोग माग गरिएको हो ।  गृह मन्त्रालयले भारत सरकारलाई सोमबार परराष्ट्र मन्त्रालयमार्फत उपकरण र गोताखोर माग गरी पत्र पठाएको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा.भीष्मकुमार भुसालले पत्राचार गरेको पुष्टि गरे । ‘हामीसँग भएका जनशक्ति र उपकरण पर्याप्त नभएपछि भारतको सहयोग लिन खोजिएको हो’ उनले भने ।

यसबारे नेपाल र भारतका विपद् व्यवस्थापन अधिकारीहरू तथा निकायबिच घटना भएको दिनदेखि नै अनौपचारिक कुराकानी भइरहेको तर औपचारिकता सोमबार पुरा गरिएको हो । यसअघि यस प्रकृतिको उद्धारमा बङ्गलादेशबाट गोताखोर मगाइएको थियो । ‘भारतको सहयोग पहिलो पटक खोजिएको हो’ भुसालले भने ।

नेपालले भारतलाई उच्चतम प्रविधिसहितको उद्धार कार्यका लागि सहयोग तथा शवहरू पत्ता लगाउन आवश्यक समन्वयका लागि औपचारिक पत्र पठाएको छ ।  सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News