अपडेट 
२०८१ श्रावण १, मंगलवार १३:०४

नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।

भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो ।

यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए ।

नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए। उजका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए।

सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको वाग्मति प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News