अपडेट 
२०८१ श्रावण २, बुधबार ०७:३१

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले शिक्षाको बिकास बिना अन्य क्षेत्रको विकास असम्भव रहेको बताएका छन् ।

मधेश विश्व विद्यालय वीरगञ्जमा मंगलबार सरोकारवालाहरुसँग भएको भेटघाटमा उनले यस्तो बताएका हुन् । मधेश विश्व विद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री लेखीले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति नबनाएसम्म देशको समग्र विकास हुन नसक्ने बताउदै शिक्षा क्षेत्रको विकास नभए कुनैपनि क्षेत्रको विकास सम्भव नरहेको आफ्नो बुझाई बताए । उनले शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु नै देशको लागि दुर्भाग्य भएको प्रसंग उल्लेख गरे । चालु आर्थिक बर्षका लागि मधेश प्रदेशले ल्याएको बजेटमा पनि शिक्षा क्षेत्र प्राथमिकतामा पर्न नसकेको बताउदै मन्त्री लेखीले मधेश प्रदेशमा अहिले नेतृत्व गरेको दल जनमत पार्टीका मुख्यमन्त्रीलाई बारम्बार आफुले शिक्षालाई प्राथामिकतामा राख्न र पर्याप्त बजेट विनियोजन गर्न माग गर्दा पनि शिक्षामा संतोषजनक बजेट नरहेको गुनासो गरे ।

संघीयता कार्यान्वयनमा आएको सातबर्षमा पनि स्थानीय तहका सरकारहरुले शिक्षा क्षेत्रमा गरेको बजेट विनियोजन निकै निराशाजनक रहेको बताए ।संघीय सरकारले पनि उच्च प्राथमिकतामा राख्न नसकेको भन्दै मन्त्री लेखीले शिक्षा राज्यको छैटौं प्राथमिकतामा मात्रै परेको बताउदै अघिल्लो सातबर्षमा मधेस प्रदेशमा शिक्षा नीति समेत बन्न नसके जानकारी गराउदै मन्त्री लेखीले आफूले मन्त्रालयमा पदभार ग्रहण गरेको दिन नै शिक्षा नीति बनाउने पहिलो निर्णय गरेको सुनाए । शिक्षा नीति निर्माणका लागि ११ सदस्यीय समिति समेत बनाएको जानकारी गराउँदै त्यसको केही बैठक र कार्यक्रम अगाडि बढाएको बतए । उनले आफू राम्रो गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढेको बताउदै सबैपक्षको सहयोग र साथ आवश्यक रहेको पनि बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, शैक्षिक गुणस्तरलाई कसरी राम्रो गर्ने भन्नेमा ध्यान नदिएर पर्खाल र पूर्वाधारहरूमा ध्यान दिने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । कार्यक्रममा उनले मधेस विश्वविद्यालयको विकासका लागि बजेटको कमी हुन नदिने बताउदै स्रोत व्यावस्थापन गर्ने आश्वासन दिए । मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य वीणा शर्मा, नेकपा एमाले पर्साका सचिव महेश दास, एमाले नेता सुन्दरकुर्मी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मधेश विश्व विद्यालयका रजिष्टार विजय यादवले गरेका थिए । कार्यक्रमपछि मन्त्री लेखीले मधेश विश्वविद्यालयको प्रशासनिक भवन, कक्षा तथा भौतिक पूर्वाधारको अवलोकन समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News