अपडेट 
२०८१ श्रावण ४, शुक्रबार ०७:२७

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा ताजिया मेला भर्न जाने क्रममा ट्रैक्टर दुर्घटना परी दुई दर्जनभन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेका एक जनालाई थप उपचारको लागि जनकपुर रेफर गरिएको छ ।

जलेश्वर नगरपालिका– ६ स्थित धबौलीबाट ज १ त ८०४४ नम्बरको टयाक्टरमा चढेर पिपरा, जनकपुरधामलगायतका ठाउँमा ताजिया मेला हेर्न जाने क्रममा जलेश्वर नगरपालिका– २ स्थित जिरोमाइलमा दुर्घटना भएको छ । ट्रैक्टर चालकले अत्याधिक मदिरा सेवन गरेर सवारी चलाएको कारण जिरोमाइलको डिभाइडरमा ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । घाइते मध्ये अधिकांशलाई साधारण चोटपटक लागेको प्रादेशिक अस्पताल जलेश्वरका इमरजेन्सी प्रमुख रोविनकुमार झाले जानकारी दिए । प्रादेशिक अस्पताल जनकपुरमा खटिएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुरले कम्मर, हातमा बढी चोट लागेका जलेश्वर नगरपालिका– ६ का आशिष राइनलाई थप उपचारको लागि जनकपुर रेफर गरिएको बताए ।

ट्रैक्टरमा अधिकांश बालक सवार रहेको खुलेको छ । अस्पतालमा बिरामी र बिरामीका कुरुवाको भीड बढ्दै गएपछि प्रहरीले भीड हटाएर उपचारमा सहजता प्रदान गरेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News