अपडेट 
२०८१ श्रावण ६, आईतवार ०८:५८

सुस्त मनस्थिति भएका एक युवकको उपचारका लागि उद्धार गर्नु अघि नै मृत्यु भएको छ ।

पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय ती युवकको शनिबार राजविराज– ५ स्थित छिन्नमस्ता अस्पताल अगाडिको सडकमा मृत अवस्थामा फेला परेका छन् । सुस्त मनस्थिति भएका ती अपरिचित युवकलाई चोटपटक नलागोस् र अरुलाई दुःख नदिउन भनेर इन्सेक सप्तरीको पहलमा तीन दिन अघि मात्र स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । रेखदेख गर्ने कोही आफन्त नभएकाले उनको उपचार, उद्धार र व्यवस्थापनका लागि इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले नै पहल लिएका थिए ।

सोही क्रममा उनले सडकमा अलपत्र परेका मानवबाट मुक्त र उनीहरुको उपचार गराइ उचित व्यवस्थापन गर्ने क्षेत्रमा क्रियाशील जनकपुरधाम स्थित मानव सेवा आश्रमका पदाधिकारीहरु संग सम्पर्क गरेका थिए ।

बेवारिसे अवस्थामा रहेका ती यूवकलाई उद्धार गरेर मानव सेवा आश्रम जनकपुरधाम लैजना शनिबार आश्रमका सचिव सुमन बर्तौला, प्रतिनिधि रणवीर महतो, सन्तोष थापा मगरलगायतको टोली एम्बुलेन्स लिएर राजविराज आइपुगे । तर दुःखद संयोग नै भन्नु पर्छ । उपचार तथा उद्धार गर्न आएको टोलीले नै दाहसंस्कार गरी फर्किनु परेको छ ।

सो टोलीले ती व्यक्तिको उपचारसंगै उद्धार गर्न आएका थिए । तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको देखेपछि उद्धारकर्ता टोली आश्चर्यमा परे । उनको पार्थिव शरीर देखेर आश्रमका टोलीमा सहभागी व्यक्तिहरुको पनि आँखा रसाए । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएका ती व्यक्ति कुन बेला अस्पतालबाट बाहिरीए भन्ने कुरा डयूटीमा रहेका स्वास्थ्यकर्मीहरुले पनि चाल पाएनन् । रेखदेख गर्ने कोही आफन्त नभएकाले उनको निगरानीमा अस्पतालबाट लापारवाही भएको उनको कथन छ ।

अस्पतालमा भर्ना रहेका व्यक्ति सडकमा मृत भेटिनु लापारवाही नै हो उनले भने । मृतकको शव फेला परेको स्थानबाट उक्त अस्पतालको दुरी करिब ८ सय मिटर टाढा छ । उनको शव अहिले पोष्टमार्टमका ल ागि सोही अस्पतालको शव गृहमा राखिएको छ । मृतक व्यक्तिको दाहसंस्कार कसरी गर्ने भन्ने तर्फ आश्रमका टोली सहित आफुहरु खटेको पोखरेलले बताए ।

उनका अनुसार सडकमा अलपत्र परेका ती व्यक्तिलाई पहिलो पटक एक साता अघि सप्तकोशी नगरपालिका कार्यालयले सडकबाट उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराएको थियो । त्यसपछि कसैलाई थाहै नदिई अस्पतालबाट हिडेका उनको दोश्रो पटक शम्भुनाथ नगरपालिका सडक क्षेत्रबाट वडा अध्यक्ष दुर्गानन्द भगत र स्थानीय समाजसेवी रहमत अलीको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गराइएको उनले बताए ।

‘अस्पतालमा भर्ना रहेका ती युवकलाई उपचारका लागि साउन ५ गते शनिबार जनकपुरधाम लैजाने कुरा अस्पताल प्रशासन समेतलाई जानकारी गराएका थियौँ, पोखरेलले भने, ‘तर कसैले वास्ता नगर्दा यस्तो दुःखद घटना भयो ।’ उनले उपचार र उद्धारका लागि ती व्यक्तिलाई लिन आएका टोली अहिले उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाउन खटिएको बताए ।

टोलीले शनिबार नै स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर ती वेवारिसे व्यक्तिको शव अन्त्येष्टि गर्नमा आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News