अपडेट 
२०८१ श्रावण ६, आईतवार १८:४२

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ ।

बाग्मतीको प्रदेश सभाकाे आजकाे बैठकलाई सम्बोधन गर्दै जम्कट्टेलले राजीनामा दिनुभएको हो । साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो । लुम्बिनीमा अब एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनेछन् ।

नेपाली कांग्रेसले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ । आज बिहान मकवानपुरकाे हेटौँडामा बसेको नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेतासमेत रहेका लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने कार्यसूची रहेकाेमा आफ्नाे पक्षमा बहुमत नपुग्ने निश्चित भएपछि उहाँले राजीनामा दिनुभएकाे छ ।

एमाले र कांग्रेसको सहमतिअनुसार बाग्मतीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ । त्यसैले अब बाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुने पक्का पक्की जस्तै छ । कांग्रेसका लामाले एमालेसमेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

यस्तै लुम्बिनीका मुख्यमन्त्री जोखबहाखुर महराले पनि राजीनामाको घोषणा गर्नुभएको हो । विश्वासको मतका लागि डाकिएको बैठकमा महराले राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा पनि सत्ता फेरबदल भएको बताउनुभयो ।

सहमतिअनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीला गिरी बन्नुहुनेभएको छ । लुम्बिनीमा एमाले–कांग्रेसको समीकरणअनुसार सहज बहुमत जुट्ने छ ।

Comment


Related News

Latest News

Trending News