अपडेट 
२०८१ श्रावण ७, सोमबार ०८:५१

सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो।

घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ।

खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन्। त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका छन्।

अध्यक्ष महतोका अनुसार आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बताएका छन्।

‘ती मान्छेहरूसँग कुराकानी भइरहँदा मानननीय ज्यूले भान्सेलाई छतमा गएर सुत् भन्नुभएको रहेछ। त्यसपछि उनी छतमा गएको र राति माननीयज्यूको हत्या भएपछि प्रहरीलाई खबर गरेको भनेका छन्,’ अध्यक्ष रायले भने।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Comment


Related News

Latest News

Trending News