अपडेट 
२०८१ श्रावण १०, बिहीबार ०६:४३

एक महिनाअघि सन्तोष महतोले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा छोरा रियान्सलाई जन्मदिनको शुभकामना दिँदै ‘हरेक दिन हाम्रो जीवनमा दिइरहेको खुसी र माया जस्तै जन्मदिन भरि पूर्ण होस्’ भन्दै लेखेका थिए । पाँच वर्षीय छोरा रियान्सलाई जन्मदिनको शुभकामना दिएको सामाजिक सञ्जाल फेसबुकमा सन्तोषको यो अन्तिम पोस्ट भएको छ । र जन्मदिनमा छोरालाई दिएको अन्तिम शुभकामना । २४ जुनपछि उनले फेसबुकमा उनले केही पोस्ट गरेका छैनन् ।

खुसी र मायाको कामना गर्दै छोरा रियान्सलाई शुभकामना दिएको ठीक एक महिनापछि २४ जुलाईका दिन सन्तोष आफैं यो दुनियाँबाट अस्ताएका छन् । सौर्य एयरलाइन्समा ‘एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर’ का रूपमा कार्यरत जनकपुरधाम–१ का सन्तोषको बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएको छ । करिब ३६ वर्ष उमेर भएका सन्तोषको पाँच वर्षका छोरा र दुई वर्षकी एक छोरी छन् ।

दुर्घटनामा ज्यान गएपछि सन्तोषको परिवार विच्चलीमा परेको छ । जहाज दुर्घटनामा छोराको ज्यान गएको खबर पुग्नसाथ जनकपुरमा उनका आमाबुबा मूर्छा परेर बेहोस भएका छन् । उनको ज्यान गए पछि गाउँ पनि शोकमा डुबेको छ । जहाज दुर्घटनामा परेर छोराको ज्यान गएको खबर आएपछि आमाबुबा मूर्छित अवस्थामा रहेको सन्तोषका आफन्त शम्भु चौधरीले बताए । सधैँ आफैँ मर्मतमा खटिइरहने जहाजमा दुर्घटनामा परेर सन्तोषको ज्यान गएको भनेर आफन्तजनले अझै पनि विश्वास गर्न सकिरहेको अवस्था छैन ।

जनकपुरधामबाट विद्यालय शिक्षा गरेका सन्तोषले भारतको महाराष्ट्रस्थित ‘ विंग्स कलेज अफ एभिएसन टेक्नोलोजी’ बाट ‘एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ’ अध्ययन गरेका थिए । एयर काष्टमण्डप र गोर्खा एयरलाइन्समा काम गरेर अनुभव बटुलिसकेका सन्तोष पछिल्लो समय सौर्य एयरलाइन्समा कार्यरत थिए ।

त्यस्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति प्रकाश खतिवडाका छोरी, ज्वाई र नाबालक नातीको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेतिर काठमाण्डुस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षीया छोरी प्रिजा, ३० वर्षीय ज्वाई मनुराज शर्मा र ४ वर्षीय नाती अधिराजको मृत्यु भएको छ ।

मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए । प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । मनुराज जहाज मेन्टिनेन्स (मर्मत) कार्यका लागि अन्य प्राविधिकसहितको टोलीमा पोखरा जान लागेपछि पत्नी प्रिजालाई कार्यलयबाट र छोरा अधिराजलाई विद्यालयबाट लिन नलगाई बोलाएर पोखरा घुम्न लादै थिए ।

यसैबीच पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझि, महासंघका पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले छुट्टाछुट्टै शोक वक्तव्य मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्ति एवं शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

Comment


Related News

Latest News

Trending News