अपडेट 
२०८१ श्रावण १०, बिहीबार ०६:५०

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कमला नदीको वरिपरि रहेको करिब सात हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् ।

धनुषाको कमला नगरपालिकामा बुधबार करिब सात हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका छन् । बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको जनाएको छ । सो निरीक्षणपछि मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरे ।

मुख्यमन्त्री सिंहले स्थानीयसँग गरेको अन्तरक्रियामा आफ्नो नेतृत्वको सरकारले कमला नगरपालिकामा रहेको बगर खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने, ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डीपीआर तयार गर्छांै । त्यहीकारणले सबै क्षेत्रका विज्ञ लिएर पनि आएका हौँ ।

डीपीआर तयार भइसकेपछि मल्टी उद्देश्यले कामको थालनी हुनेछ । तर यो चाँडै सुरु हुनेछ ।’ सबै सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले आश्वासन दिए । सरकारले लगानी गर्नका लागि नै निरीक्षण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको जनाएको छ । मुख्यमन्त्री सिंहले बगर खेती योग्य जमिनको अवलोकन पछि सम्पूर्ण कार्य योजना तयार गरिएको बताए । उनले कमलाको बगरमा ताल बनाउन, माछा पालन, बाख्रा पालन,भैँसी पालन, केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गरिने बताए ।

ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनको भनाइ छ । यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको उनको बुझाइ रहेको छ ।

Comment


Related News

Latest News

Trending News