
जानकी मन्दिर र राम मन्दिरका आदि महन्त क्रमशः सूरकिशोर दास र चर्तुभुज गिरीले १७ आँैं शताब्दीको पहिलो दशकमा आधुनिक जनकपुरको खोजी गरेका थिए । यद्यपि पूर्वमा जलाद र पश्चिममा दूधमती नदीको बीचमा फैलिएको जनकपुरमा यस अघि पनि फाट–फुट घर, स–साना मठ–मन्दिर तथा तलावहरु भने थिए । बाँकी भागमा जंगल थियो ।
पछिल्ला लगभग तीन सय वर्षमा जनकपुरधामको आकारको मात्र नभई समग्र विकास भएको छ । तर आजको यो भव्य जनकपुरधाम जादूको छडि अथवा देवी देवताको कृपाले रातारात बनेको होइन । आधुनिक जनकपुरधाम निर्माणमा यहाँका सामाजिक अभियन्ताहरुको रगत–पसिना बगेको छ । यहाँका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई जोगाउँन ती अभियन्ताहरुले दिनरात मिहिनेत गरेका छन् ।
जसको प्रतिफल हाम्रो सामु विद्यमान छ– याज्ञवल्क्य, सरस्वती माध्यमिक विद्यालय, राराब क्याम्पसलगायतका स्कूल र कलेज, जानकी पब्लिक अस्पतालको रुपमा सुरु भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल, जानकी आँखा अस्पताल, जनकपुर उद्योग वाणिज्य, कानून व्यावसायी संघ, परिवार नियोजन, रेडक्रश सोसाइटी तथा जिल्ला स्थित सरकारी कार्यालयहरु एवं रियो, लायन्स जस्ता अन्तराष्ट्रिय समाजसेवी संघ संस्थाहरु ।
जनकपुरधाममा संचालित लगभग प्रत्येक सरकारी र गैर सरकारी संघ संस्थाहरुको स्थापना आफैमा एउटा कथा हो । भनिन्छ, कथा पुरानो भएपछि इतिहास बन्छ । आज पूर्खाहरुले रगत– पसिना बगाएर स्थापना गरेका ती संघ संस्थाहरु निजी, जातीय तथा राजनीतिक स्वार्थको होडवाजी देखिएको छ । नेतृत्वको असक्षमता तथा लोभानिपापानिको कारण केही संघ संस्था समाप्त भइसकेका छन् । केही जोखिममा छन् र केही संकटमा छन् । तर बिडम्बना, आजका पुस्ताहरुलाई यी संघ संस्थाहरुको स्थापना, उत्थान र पतनबारे चासो छैन ।
आफ्ना पुर्खाहरुको कीर्तिबारे जानकारी छैन । आजका युवा भोलिका नगर संचालक हुन् । जानकार युवाहरु आफ्ना पुर्खालाई सम्मान गरुन् अनि दुःख गरेर स्थापना गरेका संरचनाहरुको संरक्षण, सम्बर्धनका लागि अग्रसर होउ नभने सबैको चाहना हो । आज चरम विवादमा परेको जानकी आँखा अस्पताल स्थापनाको कथा पनि कम रोचक छैन ।
हाल आँखा अस्पताल रहेको जग्गा बीरपुर भनौँ वा बिरख कुटीको थियो । यहाँका चलनचल्तीका नेताको हाथबाट बिक्री भइसकेको सो जग्गाखाली गराएर मकेश्वर प्रसाद सिंहको पहलमा अस्पताल निर्माण गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका– ८ का मोहन उपाध्याय आँखा अस्पताल निर्माणको कथा यस प्रकार बताउँछन्– ‘जानकी आँखा अस्पताल निर्माण भएको जग्गा बिरखकुटी र महन्त जगदीश दासको थियो । बिरख कुटीका महन्त जग्गा बिक्री गरेर भागेका थिए ।
जग्गा खरिद गर्नेहरु जनकपुरधामका कहबैका नेताहरु नै थिए । ती नेताहरुले जग्गामा सालसिमाना पनि गाडिसकेका थिए । तर मकेश्वर बाबूले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासंग समन्वय गरेर सो जग्गा आँखा अस्पतालको भोग चलनमा ल्याउनु भयो । महुवा खजुरीका प्रतिष्ठित व्यावसायी बौएलाल साहसंग समन्वय गरेर सुरुमा आँखा शिविर र पछि पक्की भवन पनि बनाउन लगाउनु भयो ।
आँखा अस्पतालको पुरानो भवनमा अझै पनि बौएलाल पानो देवीको नाम लेखिएकै छ । अन्यदाताहरुले पनि सहयोग गर्नु भयो । जग्गा बन्दोवस्त गर्ने र पुरानो भवन निर्माण गर्नेसम्म रेडक्रस सोसाइटीको नामनिसान थिएन । पछि अर्का महन्त जगदीश दासको जग्गा पनि आँखा अस्पतालको लागि लिइएको थियो ।
जगदीश दासलाई रत्नसागरको जग्गामा निर्मित पुरानो भवनमा व्यवस्थापन गरिएको थियो । मकेश्वर प्रसाद सिंह, मेघप्रसाद उपाध्याय तथा डा.जयबल्लभ दासलगायतको योजना तथा बौएलाल साह र पानो देवी जस्ता दाताहरुको सहयोगमा जानकी आँखा अस्पताल निर्माण भएको थियो । नागरिक समाजको सहयोगमा बनेको जानकी आँखा अस्पताल अचेल राजनीतिको अखाडा बनेको छ । केन्द्रिय रेडक्रशले राजनीतिक आस्थाको आधारमा अध्यक्ष र कोषाध्यक्षको नियुक्त गर्छ । चिकित्सक र कर्मचारीको नियुक्ति राजनीतिक आस्थाको आधारमा नियुक्त भएका अध्यक्ष र कोषाध्यक्षले गर्छन् ।
अचेल आँखा अस्पताल दुई कित्तामा विभाजित छ । अस्पताल संचालन र व्यवस्थापनको जिम्मा पाएका अध्यक्ष नरेशप्रसाद सिंह केही चिकित्सक र कर्मचारीको नेतृत्व गर्दै एक कित्तामा उभिएका छन् । कोषाध्यक्ष धीरेन्द्रमोहन झा भने केही चिकित्सक, कर्मचारी तथा राजनीतिक दलका नेताहरुसंग अर्को कित्तामा छन् । दुबै पक्षबाट पत्रकार सम्मेलन आयोजन गरिदैँछ । प्रेस विज्ञप्ति सार्वजनिक गरिदँैछ । प्रहरी प्रशासन गुहारिँदै छ । यता नेपाल र भारतका सुदूर गाउँहरुबाट आउँने आँखाका विरामीहरु उपचार नपाएर बिचल्लीमा परेका छन् । दुबै पक्ष आफूहरु विरामीको सेवा नरोकेको दाबी गरे पनि विरामीको उपचारबाट भने बञ्चित छन् ।
प्रहरी प्रशासन घटनाको छानबिनमा जुटेको छ । नागरिक समाजका नाममा तेल हालेर ‘मस्तराम’ भएका छन् । नागरिक समाजकै सहयोगमा निर्मित अपांग संघभित्र भव्य नैना अस्पताल तथा निजी नर्सिंग होम संचालनमा छ । रेडक्रश सोसाइटीको उत्तिमपुर र प्रादेशिक अस्पताल जनकपुरधामस्थित भवन भाडामा लगाइएको छ । बाल मन्दिरको जग्गामा पब्लिक यूथ नामक निजी कलेज संचालनमा छ भने नेपाल परिवार नियोजनको उत्तिमपुरस्थित भवनको कोठाहरु पनि भाडामा लगाइएका छन् ।
समाजिक सेवाका लागि गुठीको जग्गा लिजमा लिएर स्थापना गरिएका यी संस्थाहरुको सदस्यता तथा आम्दानी–खर्चको हिसाबबारे नागरिक समाज बेखवर छन् । अचम्म सुरुमा नागरिक समाजद्वारा समाज सेवाको पवित्र उद्देश्य लिएर स्थापित संघ संस्थासम्म नागरिक समाजभन्दा पनि व्यापारीहरुको पहुँच सजिलो भएको छ ।