
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रदेश भरमै त्यसमा पनि शिक्षा तथा संस्कृति मन्त्रालयले पहिलो पटक आर्थिक वर्ष सम्पन्न भएको तीन साता पछि मातहतका कार्यालयसहित शुक्रबार प्रगति विवरण प्रस्तुत गर्नुका सार्थ समीक्षा समेत गरेको छ । हालसम्म मधेश प्रदेशका कुनै पनि मन्त्रालय र मातहतका कार्यालयले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेको छैन ।
शिक्षा तथा संस्कृति मन्त्रालयले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक प्रगति समीक्षा गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले विगतमा भएको त्रुटि, कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाउने तयारी रहेकाले योजनाहरु संचालनमा ढिलाई नगर्न मुख्यमन्त्री सिंहले मन्त्रालयका सचिवसहित मातहतका कर्मचारीहरुलाई प्रभावकारीरुपमा पारदर्शीता अपनाउँदै काम गर्नका लागि निर्देशन दिए ।
उनले मधेश प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित भई नतिजामूखि कार्य गर्नुपर्ने बताए । सो अवसरमा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने दावी गरिन् । उनले प्रदेशमा विकास कार्यलाई गति दिनको लागि मन्त्री र कर्मचारीहरु बीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको बताइन् ।
शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले आफूले सुखसुविधाभन्दा कामलाई प्राथमिकता दिएकाले आफ्नो जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्नको लागि कर्मचारीहरुलाई निर्देशन दिइन् ।