अपडेट 
२०८१ श्रावण १८, शुक्रबार ०८:१२

फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला महोत्तरीको बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ ।

फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । केन्द्रको भवन निर्माणका लागि मेयर प्रह्लाद क्षेत्री, उपमेयर तारादेवी महतो तथा वडाध्यक्षहरूले मंगलबार बर्दीबास–८ स्थित मोडल एग्रो भिलेज परिसरमा संयुक्त रूपमा शिलान्यास गरे ।

सो शिलान्यास कार्यक्रममा मेयर क्षेत्रीले निर्माण द्रुत गतिमा सम्पन्न गरी दुई÷तीन महिनाभित्रै फोहोर प्रशोधन कार्य सुरु गरिने बताए । केन्द्रमा आधुनिक प्लान्टले प्रशोधन सुरु गरेपछि नगर क्षेत्रका नदी, जंगल र गाउँबस्तीमा देखा परेका फोहोरसमेत प्रयोग हुने भएकाले बर्दीबासलाई स्वच्छ, स्वस्थ र सुन्दर नगर बनाउने नगरवासीको सपना साकार हुने बताए । मेसिनका लागि प्रशोधन गर्न ठुलो मात्रामा फोहोर आवश्यक पर्ने भएकाले सो प्लान्टले छिमेकी पालिकाका फोहोरलाई पनि व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ । यो प्लान्ट वर्ष दिनअघि नै जडान भइसक्नुपर्ने थियो ।

पुरानो ठेकेदार भागेपछि नयाँ ठेकेदार हिटा हेभी मेसिनरी रिसाइकल प्रालिले तत्काल डेढ करोड रुपैयाँको लागतमा रिसाइकल केन्द्र स्थापना गर्न लागेको छ । यसका लागि नगरपालिकाले एग्रो भिलेज परिसरमा तीन बिघा जमिन हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनीका प्रमुख तेन्जिङ शेर्पाले तत्काल तीन वटा प्लान्ट जडान गरिने र पछि आवश्यक परे मेसिन थप्दै जाने बताए ।

सो नगरपालिकाका वातावरण प्राविधिक संयोग ढकालले रिसाइकल केन्द्रमा जापानी प्रविधिका फोहोर वर्गीकरण गर्ने ‘एग्रिगेटर’ मेसिन, छुट् याएको फोहोरमध्ये काम नलाग्नेलाई खरानी बनाउने धुवाँरहित ‘इन्सिनेटर’ मेसिन र सिसालगायत नगल्ने फोहोरलाई धुलो बनाउने ‘ग्लास व्रmसर’ प्लान्ट जडान गरिने बताए । वर्गीकरण र प्रशोधन गरिएका फोहोरबाट जैविक मल, झोला, घर बनाउने ब्लक जस्ता पुनः प्रयोग गरिने सामग्रीमा उपयोग हुने हुँदा ५०/६० जनाका लागि रोजगार ीसमेत सिर्जना हुने जनाइएको छ ।

बर्दिबास नगरपालिकाका– १४ मध्ये अहिले तीन वटा वडाबाट मात्र दैनिक छ टन जति फोहोर संकलन हुने गरेका छ । यहाँ जडान हुने एग्रिगेटर प्लान्टको क्षमता भने प्रतिघण्टा एक सय टनसम्म फोहोर वर्गीकरण गरिन्छ । यसका लागि बाँकी रहेका वडा र छिमेकी पालिकाका फोहोरलाई समेत प्रशोधन गर्न सकिने भएको हुँदा यसले अर्थोपार्जनदेखि सभ्य समाज निर्माणमा योगदान पुग्ने ढकालले बताए । उनले भने, “कुहिनेलाई जैविक मल र नकुहिने फोहोर रिसाइकल गरी पुनः प्रयोगका लागिसमेत बिक्रि गर्न सकिने भएकाले प्लान्ट सुरु भएपछि मात्र फोहोरभित्र लुकेको मोहर देख्न पाइने छ ।” ढकलाका अनुसार यो मधेश प्रदेशकै पहिलो रिसाइकल केन्द्र हो ।

यसअघि वडा– ६ का वडाध्यक्ष पदम आलेले पुरानो ठेकेदारको लापर्बाहीले पछि परेको यो रिसाइकल केन्द्रको काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

Comment


Related News

Latest News

Trending News