अपडेट 
२०८१ श्रावण १८, शुक्रबार १५:३०

शास्त्रीय सङ्गीतका महान् साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको निधनमा शोकाभिव्यक्तिका लागि मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधी झुकाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार जारी गरेको शोक वक्तव्यमा शिक्षा, चेतना र सँस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन अघि बढाएका स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार मधेश प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झन्डालाई आधी झुकाउने निर्णय गरिएको छ ।

वक्तव्यमा मुख्यमन्त्री सिँहले अत्यन्त गहिरो र प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्ति गर्न सम्पूर्ण जीवन व्यतीत गरेका भग्वतोपासक दिवंगत गुरुदेवजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिँहले स्व.कामत मनोरञ्जन र जीविकोपार्जनका लागि नभएर अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आराधना र उपासनाका यात्राबाट शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक र उत्कर्षोन्मुख बनाएको उल्लेख गरे । उनले स्व. कामत जीवनका कठोरतम क्षणसँग लड्दै भिज्दैँ सङ्गीत क्षेत्रमा पुर्‍याएका योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री सिँहले स्व. कामतको साङ्गीतिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकालसम्म गौरव–गरिमाबाट विभूषित गरिरहने वक्तव्यमा लेखेका छन् ।

मुख्यमन्त्री सिँहले शोक वक्तव्यमा लेखेका छन्, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिनुभयो । उहाँको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सँख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम ढङ्गले बुझ्न सक्षम भएका छन् ।’

स्व.कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा संलग्न हुन नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक र उत्कंठित भएको अवस्था रहेको थप्दै मुख्यमन्त्री सिँहले एउटा आदर्श सङ्गीत अनुयायी, आदर्श गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरूपण गर्ने संवेदनशील स्रस्टा/साधकका रूपमा दिवंगत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि एउटा चम्किलो नक्षत्र भएर सबैलाई प्रेरित एवम् प्रोत्साहित गरिरहने मुख्यमन्त्री सिँहले वक्तव्य भनेका छन् ।

Comment


Related News

Latest News

Trending News