अपडेट 
२०८१ श्रावण १९, शनिबार ०७:१५

मधेश प्रज्ञा प्रतिष्ठानले शास्त्रीय संगीतका साधक गुरुदेव कामतको एकल गायन प्रस्तुति गराइ पारिश्रमिक नदिइ अन्याय गरेकाले विभिन्न संघसंगठन, साहित्यिक अभियन्तादेखि सांगीतिक क्षेत्रका संस्थाहरुले समेत चर्को विरोध गरेका छन् ।

मधेश प्रज्ञा प्रतिष्ठानले वितेको माघ २६ गते शुक्रबारका दिन महेन्द्र नारायण निधि सांस्कृतिक केन्दको सभाहलमा सो कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा साधक कामतले चार घन्टासम्म एकल गायन गरेका थिए । एकल गायन सम्पन्न भएपछि साधक कामतले आफ्नो पारिश्रमिकबारेमा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिसंग अनुरोध गर्दा सरकारी कामकाजमा ढिलाइ हुने भएको बताउँदै पारिश्रमिक नदिइएको भनि सार्वजनिक गरिएको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भइरहेको छ ।

अध्यक्ष कापडिले साधक कामतको पारिश्रमिक र उपचार खर्च वापतको सहयोग रकम घोषणा गरे पनि नदिएको भन्दै अहिले सिरहाका पत्रकारहरुसमेतले साधक कामतको निधन भए पछि अध्यक्ष कापडिको राजीनामासंगै प्रतिष्ठानको खारेजको माग सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

सामाजिक सञ्जालमा साधक कामतले प्रतिष्ठानका अध्यक्ष कापडिको नामै लिएर काम गरेको पारिश्रमिक नपाएको गुनासो गर्दै सहयोगस्वरुप पाउनुपर्ने रकम नपाएको भन्दै भाइरल भइरहेको भिडियोमार्फत दुःखेसो पोखेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा साधक कामतले श्रष्टा तथा सर्जकहरुको आस्थाको केन्द्र हुनुपर्ने प्रतिष्ठानमा काम गरेवापत पाउनुपर्ने रकम आफू जीवन, मृत्युसँग संघर्ष गरिरहेको अवस्थामा सहयोग स्वरुप पनि पाउन नसकेको दुःखेसो व्यक्त गरेका छन् ।

अध्यक्ष कापडिले प्रतिष्ठानको कार्यक्रम गर्दा साधक कामतले कार्यक्रम प्रस्तुत गरेको स्वीकारे पनि आफूले रकमसम्बन्धमा कुनै किसिमको वाचा नगरेको जिकिर गरे । उनले आफूले एक लाख रुपैयाँको दिने कुराकानी नगरेको दाबी गर्दै आएका छन् । स्रोतका अनुसार अध्यक्ष कापडिले कार्यक्रमकै नाममा नास्ता र अन्य खर्च वापतको मन्त्रालयबाट लाखौँ रकम निकासासमेत गरिसकेका छन् ।

साधक कामतले अध्यक्ष कापडिले पारिश्रमिक वापतको एक लाख रकम नदिएकाले सो रकम उपलब्ध गराइदिनका लागि सिरहाका प्रदेशसभा सदस्य ललिता दास विद्रोही, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, संगीतकार एवं गायक सुनिल मल्लिक, साहित्यकार श्यामसुन्दर शशिलगायतलाई हारगुहार गरेका थिए । प्रदेशसभा सदस्य दासले सो कार्यक्रममा आफू पनि उपस्थित रहेको तर अध्यक्ष कापडिले आफूलाई पनि अपमान गरेको आक्रोश पोख्दै उनले साधक कामतले आफूलाई पारिश्रमिक वापतको रकम मधेश प्रज्ञा प्रतिष्ठानकाबाट उपलब्ध गराइ दिनका लागि आग्रह गरेको बताइन् । उनले अब यो सवाल प्रदेशसभामा उठाउने भन्दै प्रतिष्ठानका अध्यक्ष कापडिले गरेको अपराध अक्षम्य रहेको बताइन् ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले साधक कामतका बारेमा अध्यक्ष कापडिलाई पटक पटक अनुरोध गरे पनि अन्ततः बेवास्ता गर्नु दुःखद रहेको प्रतिक्रिया दिए । उनले हामीलाई समेत प्रतिष्ठानबाट आफूले पाउनुपर्ने पारिश्रमिक वापतको रकम मिलाइ दिएमा उपचार खर्चका लागि सहयोग हुने भन्दै आग्रह गरेका थिए । तर यता प्रतिष्ठानका अध्यक्ष कापडिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्व. कामतको मुखबाट केही शब्द बोल्दै गरेको भिडियो क्लीप सामाजिक सञ्जालमा राखिएकोमा प्रतिष्ठानको ध्यानाकर्षण भएको जनाएका छन् ।

साधक कामतले भिडियो क्लीपमा एक लाख रुपैयाँ दिने सहमति भएको भनिए पनि कहाँ, कोसंग र के आधारमा सो रकम दिने भन्ने बारे खुलाइएका छैनन् सो विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष कापडिले विज्ञप्तिमा सो कुरा उल्लेख गरे पनि उनले त्यतिबेला कार्यक्रम उद्घाटन कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै साधक कामतको उपचारमा सहयोगका लागि कार्यक्रमको आयोजना गरिएको बताएका थिए । साधक कामतको आर्थिक अभावकै कारण काठमाण्डुस्थित अस्पतालमा उपचार गराउन नसकेपछि परिवारजनले उनलाई पैतृक गाउँमै ल्याएर लहानस्थित अस्पतालमा उपचार गराइरहेका थिए । सोही क्रममा उनको निधन भएपछि बिहीबार नै साधक कामतको दाहसंस्कारसमेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News