अपडेट 
२०८१ श्रावण १९, शनिबार ०७:१८

मिटर व्याज पीडित भोगेन्द्र ठाकुरलाई शहीद घोषणासहित जिल्ला प्रशासन कार्यालय धनुषासंग आठ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–२ का मिटर व्याजी पीडित ठाकुरको हत्यामा संलग्न रहेका दोषीमाथि कारबाहीसहितका विषयलाई लिएर आन्दोलनरत्त मिटरब्याज पीडित संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयबीच आठ बुँदे सहमति भएको छ । हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादवलगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्नेलगायतको सहमति भएको जनाइएको छ ।

ठाकुरकी श्रीमति श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक दुई छोरीको पालनपोषण एवं विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासमानले बताए ।

गत सोमबार बिहान हत्या भएका ठाकुरको शवसहित मंगलबारदेखि मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरव्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासमान, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालगायतले हस्ताक्षर गरेका छन् ।

Comment


Related News

Latest News

Trending News