अपडेट 
२०८१ श्रावण १९, शनिबार १७:०४

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न र तिनका आधारमा समाधानका उपाय खोज्न सम्बद्ध सरकारी निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा मुख्यमन्त्री सिँहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।

उनले पछिल्ला दिनमा केही संकटग्रस्त सहकारीका कारण सहकारी भन्नेबित्तिकै झसङ्ग हुने अवस्था आएको औँल्याउँदै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गर्न सकिए यस क्षेत्रको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुने उल्लेख गरे ।

सार्वजनिक निकाय उत्पादन तथा व्यवसाय क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा बढीजसो आकर्षित हुने हुँदा उत्पादन तथा व्यावसायिक गतिविधिमार्फत राष्ट्रिय अर्थतन्त्रमा सहकारीले पुर्याउँदैआएको योगदानको प्रशंसा गरे ।

उनले भने, ‘राष्ट्रको तीव्र विकासमा सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको छ । राज्यसँग समन्वय गर्ने सहकारीहरूले विभिन्न देशमा राम्रा काम गरेका छन् ।’

मुख्यमन्त्री सिँहले सञ्चालक समिति र सदस्यहरूबीच तालमेल नहुँदा किसानलगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूले प्रतिबद्धता व्यक्त गरिरहेको प्रस्ट्याए ।

ऋण चुक्ता गरिसके पनि धित्तो राखिएका जग्गा फुकुवा नभएको गुनासा आइरहेको भन्दै उनले त्यस विषयमा आफूले आधिकारिक व्यक्तिहरूसँग कुरा गरेको र थर्ड पार्टी कोल्याट्रलसँग जोडिएका समस्या अन्त्य हुने आश्वासन पाएको जानकारी गराए ।

कार्यक्रममा सहकारी सदस्यहरूलाई सम्मान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News