पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शास्त्रीय संगीतकार गुरुदेव कामतको उपचार नपाएर मृत्यु हुनु राज्यका लागि लज्जास्पद रहेको बताएका छन् ।
नेता निधि शनिबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित पोखरभिण्डामा रहेको घर पुगेर आर्थिक समस्याका कारण उपचारकै अभावमा साधक गुरुदेव कामतको मृत्यु हुनु राज्यका लागि लज्जास्पद रहेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य निधिले भने, ‘मृत्युपछि मात्रै उहाँ बिरामी हुनुहुन्थ्यो भन्ने कुरा मलाई थाहा भयो, यो मृत्यु राज्यका लागि लज्जास्पद हो ।’ उनले अघि थप्दैँ भने, ‘यसको दोष म अरूलाई दिन्न, हामी नै अहिले सत्तामा छौं, म क्षमायाचना गर्न चाहन्छु ।’ नेता निधिले नेपाल तथा भारतमा आफ्नै अलग्गै पहिचान बनाएर स्थापित भएका साधक कामतको निधनले देश विदेशका लागि पनि अपूरणीय क्षति भएको बताए । नेता निधिले मृत्युको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको र केन्द्र सरकारले पनि सो गर्नुपर्ने उनले माग गरे ।
नेता निधिले भने, ‘ प्रदेश सरकारले शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको छ, केन्द्र सरकारले पनि यस्तो निर्णय गर्नुप¥यो शोक प्रकट गर्नुप¥यो, उहाँ राष्ट्रकै धरोहर र सम्पत्ति हुनुहुन्थ्यो ।’ नेता निधिले साधक कामतले कला तथा सांगीतिक क्षेत्रमा आरम्भदेखि अहिलेसम्म गरेका विभिन्न चरणका संघर्षदेखि सांगीतिक क्षेत्रमा गरेका उल्लेख्नीय योगदानलाई जोगाएर राख्नका लागि सोको संरक्षण तथा संवद्र्धन गर्न आवश्यक रहेको बताए ।
मिर्गौला पीडित शास्त्रीय संगीतकार साधक कामतको बिहीबार बिहान साढे ७ बजे आफ्नै जन्मथलो पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको थियो । उनी काठमाण्डुमा आर्थिक संकटका कारण उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र जन्मथलो फर्किएका थिए । लहानस्थित प्रादेशिक अस्पतालमा उनको डायलासिस हुँदै आएको थियो ।

