अपडेट 
२०८१ श्रावण २२, मंगलवार १५:२४

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले मन्त्रालयका कर्मचारीहरूले काममा साह्रै लापरबाही गरेको टिप्पणी गरेका छन् ।

अर्थ मन्त्रालयले जनकपुरमा आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । मन्त्रालयका कर्मचारीहरूमा पछिल्लो समय काम गर्ने जाँगर नदेखिएको भन्दै एकदम लापरबाही बढेको उनले गुनासो गरे ।

गोष्ठीमा मुख्यमन्त्री सिंहले सचिवदेखि लिएर अन्य तहका कर्मचारीहरूको ढिलासुस्तीका कारण प्रदेश सरकारको कामको ‘आउटपुट’ नदेखिएको भन्दै आक्रोश पोखे ।

कर्मचारीहरूबाट जनताको काम मात्र नभई मन्त्रालयका वेभसाइटहरुसमेत अपडेट जस्ता एकदम सामान्य काम नहुने गरेको उनले बताए ।

उनले भने, ‘कतिसम्म कर्मचारीहरूमा लापरबाही छ, नयाँ सरकार आएको करिब २ महिना पुग्न लागेको छ । तर अहिलेसम्म कुनै मन्त्रालयको वेबसाइट अपडेट छैनन् । १०/११ वटा मन्त्रालयको वेबसाइटहरु अझ अपडेट नै भएका छैनन् । यो कतिसम्म जायज कुरा हो ।’

उनले भने, ‘सेवाग्राहीको आज हुने काम आजै गर्नुस्, भोलि या पर्सी हुन्छ भने ढिलाइ नगर्नुस् । बरु जनताको समय छिटो छरितो के गर्नुपर्छ भन्नुस सरकारले त्यो काम गर्नेछ । तर आज हुने काम भोली वा पर्सी नगर्नुस् । किनकि यसले सरकारको आउटपुट देखिँदैन ।’

सरकार र राजनीतिकतर्फ हुने सबै सहयोग आफ्नो नेतृत्वको सरकार गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए ।

अर्थमन्त्री सुनिलकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेस सरकार सबै मन्त्रालय कर्मचारी, आयोगका प्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News