अपडेट 
२०८१ श्रावण २५, शुक्रबार १९:०७

भारतीय विदेशसचिव विक्रम मिश्री यही आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार काठमाडौं उत्रिने भएका हुन् ।

उनी नेपालस्थित परराष्ट्र मन्त्रालयकी सचिव डा. सेवा लम्सालको निमन्त्रणमा दुई दिने भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणबारे दुवै देशले पुष्टि गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रमणका क्रममा दुई देशका सचिवबीच बहुआयामिक सम्बन्धका विविध पक्षमा कुरा हुने जनाएको छ ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले नपालस्थित सरकारका उच्च नेतृत्वसँग पनि भेट गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई नियमित र द्विपक्षीय सम्बन्ध बलियो बनाउने प्रयास भनेको छ।

भारतीय दूतावासका एक अधिकारीले पनि विदेशसचिव मिश्रीको भ्रमणको पुष्टि गरेका छन्। नेपालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो उच्चस्तरीय पहिलो भ्रमण हो ।

भारतीय विदेशमन्त्रालयले आइतबार र सोमबार नेपाल भ्रमणमा रहने पुष्टि गरेको छ। विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई पनि यो भ्रमणले प्रतिबिम्बित गर्ने भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

‘भारत र नेपालबीच सदियौँ पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ’, भारतीय विदेश मन्त्रालयले शुक्रबार भनेको छ।

यो भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणासहित दलका नेताहरूसँग पनि संवाद गर्ने भएका छन् ।

विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने सम्भावना छ । ओलीलाई भारतले भ्रमणको आधिकारिक निम्तो दिएको छैन ।

नेपाल भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने सम्भावना छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयका सचिव बनेका हुन् ।

यसअघि भारतीय विदेश सचिवको भूमिकामा नेपालका लागि राजदूत रहिसकेका विनयमोहन क्वात्रा थिए । क्वात्रा हाल अमेरिकाका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेर गएका छन् ।

Comment


Related News

Latest News

Trending News