अपडेट 
२०८१ श्रावण २८, सोमबार ०७:१४

मधेश प्रदेशको राजधानी जनकपुरधामका उद्योगी व्यवसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावका लागि धमाधम उम्मेदवारी घोषणा भइरहेको छ ।

संघको अध्यक्ष पदका लागि हालसम्म तीन जना युवाहरुले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, पूर्ववरिष्ठ उपाध्यक्ष जितेन्द्र साह र पूर्वउपाध्यक्ष एवं गत चुनावमा झिनो मतान्तरले पराजित भएका सुरेन्द्र भण्डारीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीनै जना उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् ।

विगतमा गरेका कार्यहरु र आगामी दिनमा गरिने कामलाई नै उम्मेदवार हरुले प्रचारप्रसारमा समेटेका छन् । ४ हजारभन्दा बढी मतदाता रहेको उद्योग वाणिज्य संघमा विभिन्न पदका प्रत्याशीहरुले नै शूल्क तिरेर नयाँ सदस्यता एवं नवीकरण गराएका छन् । सदस्यता नवीकरण र नयाँ सदस्यता बनाएको आधारमा नै जित निश्चितप्रति विश्वस्त रहेका छन् ।

सदस्यता नवीकरण र नयाँ सदस्यता बनाउन प्रत्याशीहरुले ठूलो लगानी गरेको बताइन्छ । जनकपुरधाम उद्योग वाणिज्य संघको गत चुनावमा धनुषा जिल्लाभरिका मतदाता रहेका थिए । तर नेपाल उद्योग वाणिज्य महासंघले हरेक नगरपालिकामा उद्योग वाणिज्य संघ गठन गर्न सकिने प्रावधान ल्याएपछि यस पटक जनकपुरधाम उपमहानगरपालिकाका उद्योगी, व्यवसायीहरु मात्र सदस्य छन् ।

जउवा संघले निर्वाचन गराउन पूर्वअध्यक्ष ललितकुमार साहलाई संयोजक तोकिसकेको छ । तर मतदाताको नामावली फाइनल हुन बाँकी रहेको छ । मतदाता नामावली प्राप्त नभएको बताउँदै निर्वाचन समितिका संयोजक साहले भदौँ २९ गते मतदान हुने तिथि निर्धारण भइसकेको बताए । संघमा अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायत सदस्यहरुको चुनाव हुनेछ ।

अन्य पदमा पनि प्रतिष्पर्धा हुने निश्चित छ । तर अध्यक्ष पदका प्रत्याशीहरुले नै संघको चुनाव हुन लागेको वातावरण बनाउन लागेका छन् । अन्य पदका उम्मेदवारहरुले सामाजिक सञ्जालमा इच्छा व्यक्त गरिरहेका छन् । कतिपय उम्मेदवारहरुले व्यवसायीहरुको व्यवसायिक प्रतिष्ठानमा समेत पुग्न थालेका छन् । तर चर्चामा हाल अध्यक्षका प्रत्याशीहरु नै रहेका छन् ।

चुनावमा युवा व्यवसायीहरुको चासो बढी देखिन्छ । उद्योगी, पुराना र ठूला व्यवसायीहरुले चुनावप्रति खासै चासो लिएको पाइदैन । पछिल्लो समयमा जउवा संघमा सक्रिय व्यवसायीहरु नेतृत्वबाट पाखा लाग्न थालेका छन् । आफ्ना व्यवसायमा समय दिनु नपर्ने, प्रशासनिक निकायहरुमा दौडधुप गर्न सक्ने युवाहरुलाई नेतृत्वमा ल्याउने चाहना व्यवसायीहरुको देखिन्छ । हुन त विगतको जस्तो जउवा संघको गरिमा अहिले नरहेको धेरै व्यवसायीहरुको स्वीकारोक्ति छ ।

स–साना समस्या हुँदा पनि प्रशासनिक निकाय नै धाउनु परिरहेको छ । विगतमा प्रशासनिक निकाय प्रमुखहरु समस्या समाधानका लागि जउवा संघको कार्यालयमा नै पुग्ने गरेका थिए । हुन त जउवा संघले विभिन्न दलका नेता र निकायहरुसित चन्दा लिन थालेको कतिपय पूर्व पदाधिकारीहरुले रुचाएका छैनन् ।

चन्दा दिने, विभिन्न सामाजिक गतिविधिहरुमा अग्रणी भूमिका निर्वाह गर्ने व्यवसायीहरुको संस्थाले चन्दा माग्नु क्लवहरुको जस्तो क्रियाकलाप भएको उनीहरुको कथन छ । चुनावमा उद्योगी र ठूला व्यवसायीहरुले चासो नलिनुको कारण चुनाव जित्ने अवस्था नरहेको नै हो । चुनावमा मतदातालाई प्रभावित पार्न अनेक प्रकारको दबाब र प्रलोभन दिने गरिन्छ । त्यो इमान्दार व्यवसायीले गर्न नसक्ने भएर नै उनीहरु पाखा लागेको व्यवसायी कमल साह बताउँछन् ।

यस पटक पनि चुनावमा राजनीति दलहरुको प्रभाव व्यापक रहने संकेत देखिएको छ । नेपाली कांग्रेस निकट रहेका मनिष रमण र जितेन्द्र साह अध्यक्ष पदका प्रत्याशी हुन् । त्यसैगरि नेकपा एमालेको जनकपुरधाम उपमहानगरपालिका अध्यक्ष समेत रहेका भण्डारी पनि अध्यक्ष पदका प्रत्याशी हुन् । यद्यपि कांग्रेस र एमालेले औपचारिक रुपमा चुनावमा खुलेका छैन । तर दलगत रुपमा भण्डारीलाई एमालेले सघाउने स्वभाविक मानिन्छ ।

यद्यपि कांग्रेसले दुवै जना मध्ये एकलाई उम्मेदवार घोषणा गर्ने अथवा मौन रहेर नै आन्तरिक रुपमा सघाउने खुलस्त हुन बाँकी छ । मतदाताहरु पनि अहिले नै खुलिसकेका छैनन् । तर युवा व्यवसायीहरुले आफ्ना निकटका उम्मेदवारहरुको प्रचारप्रसारमा जुट्न थालेका छन् । सामाजिक सञ्जालमा अन्य उम्मेदवारको विरोध नगरी आफूले रुचाएका उम्मेदवारलाई समर्थन गरिरहेका छन् । यसलाई सकारात्मक रुपमा मतदाताहरुले लिएको पाइन्छ ।

Comment


Related News

Latest News

Trending News