
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीच शिक्षक सरुवाको विषयमा विवाद हुँदा कुटाकुट भएको छ ।
मेयर पौडेलले वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए । त्यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीको सरुवा गरी वडा २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाएका थिए ।
मेयर पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठले आफूसंग सल्लाह नै नलिँदा चित्त नबुझेको भन्दै विरोध गरे । वडा अध्यक्ष श्रेष्ठ शिक्षक सरुवाको विरोध गरिरहेकै बेला मंगलबार सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा शिक्षक सिता अधिकारी पुगेपछि विवाद बढेको छ । वडा अध्यक्षले हाजिर हुन नदिने भनेपछि मेयर पौडेल विद्यालय पुगेका थिए ।
मेयर पौडेलले जर्वजस्ती हाजिर गराउन खोज्दा वडा अध्यक्षसंग घम्साघम्सी नै भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवि पौडेलले थामथुम पारे । वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको विद्यालयमा सरुवा भएको आएको ६ महिना नवित्दै शिक्षक मेघराज बराललाई वडा ७ को विद्यालयमा पठाएपछि विवाद भएको बताए ।