अपडेट 
२०८१ श्रावण ३०, बुधबार ०९:२०

सर्लाही जिल्लाका सामुदायिक विद्यालयहरुमा शक्ति र पहुँचको आडमा न्यूनतम योग्यता भएका शिक्षक नियुक्ति गरिदा शैक्षिक गुणस्तर दिनानुदिन खस्किँदै गएको छ । जसकारण सामुदायिक विद्यालयमा अध्ययनरत्त विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

विगत लामो समयदेखि दरबन्दी मिलान नहुनु । विषयगत शिक्षकको चरम अभाव र कमसल शिक्षकको दरबन्दीले गर्दा जिल्लामा रहेका सामुदायिक विद्यालयहरूको अध्यापन प्रणाली योग्य शिक्षकको आभावमा शिक्षाको गुणस्तर कमजोर हुँदै गएको नागरिक समाजका अगुवा उग्रकान्त झाले गुनासो गरे ।

जिल्लामा ८ सय ४७ विद्यालयहरु दर्ता छन् । जसमध्ये सामुदायिक विद्यालयहरुको संख्या ४ सय ७८ वटा छन् । संस्थागत विद्यालयको संख्या २ सय ८३ वटा र परम्परागत विद्यालयहरुको संख्या ८६ वटा छन् । उच्च शिक्षाका लागि जिल्लामा ७ वटा क्याम्पसहरु पनि संचालनमा रहेका छन् । जिल्लामा २०७४ साल तिर शिक्षकहरुको दरबन्दी मिलान भएको थियो । त्यसपछि अहिलेसम्म दरबन्दी मिलान नभएपछि समस्या सृजना भएको पुर्ब शिक्षक सुशील चौधरीले जनाए ।

सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षक नहुँदा पालिका प्रमुख तथा पहुँचवाला नेता तथा जनप्रतिनिधिहरु आफ्नो पावर र पहुँचको आधारमा आफु नजिकका ब्यक्ति, कार्यकर्ता र नातेदारहरुलाई शिक्षकको रुपमा भर्ना गर्दै आएका छन् । जसले गर्दा विद्यालयको पठनपाठन समेत प्रभावित हुने गरेको छ ।

सामुदायिक विद्यालयमा अधिकांश गरिब तथा मजदुर वर्गका बालबालिकाहरु पढ्ने गरेकाले यसको प्रत्यक्षमारमा उनीहरूनै पर्ने गरेका छन् । कौडेना गाउँपालिकाका शिक्षक दिपेन्द्र राय यादवका अनुसार नेपाल सरकारले शिक्षकलाई प्रत्येक महिना तलब भुक्तानी गर्ने निर्देशन दिइसकेको छ। अन्य जिल्लाहरुमा यो लागू पनि भइसकेको छ तर सर्लाहीमा भने यो नियम लागुभएको छैन ।जसले गर्दा शिक्षकहरु पढाउन अल्छी गर्ने गरेका हुन् । शिक्षा समन्वय इकाई सर्लाहीका प्रमुख तारापती खरेलले सर्लाही जिल्लामा दरबन्दी मिलान भएको वर्षौ वितिसक्दा पनि यस तर्फ स्थानीय सरकारको ध्यान नगएको बताए । विषयगत शिक्षकको अभावमा अन्य विषयका शिक्षकले पढाउने, राहत शिक्षक प्राधानाध्यापक बन्नको लागि मरिहत्ते गर्ने जस्ता कारणहरुले गर्दा सामुदायिक विद्यालयमा शिक्षाको स्तर खस्किँदै गएको उनले स्विकारे ।

Comment


Related News