अपडेट 
२०८१ श्रावण ३१, बिहीबार ०७:४८

मधेश प्रदेश सरकारमा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेर आलोचित भइरहेको बेला प्रतिनिधिसभा सदस्य गोमा लाभ सापकोटालाई हटाउने प्रयास असफल भएको छ ।

जनमत पार्टीले सापकोटालाई प्रतिनिधिसभाबाट हटाउन दोस्रो पटक प्रयास गरेको थियो । सापकोटालाई पदमुक्त गर्न जनमत पार्टीले पठाएको दोस्रो पटकको पत्रलाई पनि संसद सचिवालयले अस्वीकृत गरेको छ । संसद सचिवालयका अनुसार गत साता जनमत पार्टीले सापकोटालाई कारबाही गरेको पत्र दर्ता गरेको थियो । सापकोटा जनमत पाटीका लागि गलफाँसो बनेकी छन् । उनी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेकी हुन् । समानुपातिक तर्फको बन्द सूची बनाउने बेला अकस्मात जनमत पार्टीमा प्रकट भएकी सापकोटा नेताको कृपाले मात्र सांसद नभएकाले हटाउन मुश्किल भएको पार्टी भित्र पनि चर्चा चलेको छ ।

२०८० फागुन २७ गते जनमत पार्टीको संसदीय दलले सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएर पदमुक्त गर्न माग गरेको थियो । सो पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको, पार्टीले सोधेको स्पष्टीकरणको सन्तोषजनक जवाफ नदिएपछि आवश्यक सफाइ दिने प्रकृया पुरा गरेर पदमुक्त गर्न पत्र पठाइएको दाबी गरिएको थियो । तर सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन अनुसार सापकोटालाई जनमत पार्टीले गरेको कारबाही नमिलेको भनेर पदमुक्त गर्न अस्वीकार गरेका थिए ।

२०८० फागुनमा जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको पत्र पार्टीको लेटरहेडमा रहेको भनेर अस्वीकृत गरिएको थियो । सापकोटालाई कारवाही हुने आधार सो पत्रमा नदेखिएको भनेर सभामुख घिमिरेबाट अस्वीकृत भएकाले पछिल्लो पटक गरिएको पत्राचारमा नयाँ निर्णय लिन नपर्ने जवाफ संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनमत पार्टीलाई पठाएका छन् ।

महासचिव पाण्डेयले जनमत पार्टीबाट पत्र आएको र जवाफ पठाएको जानकारी दिएका छन् । गत फागनु ८ गतेमा सभामुख घिमिरेको निर्णय अनुसार संसद सचिवालयले जनमत पार्टीलाई कारबाहीको प्रक्रिया नपुगेको भनेर पत्र पठाएको थियो । सोही आधारमा साउनमा जनमत पार्टीले फेरि सापकोटालाई पार्टीबाट निष्कासन गरिएको भन्दै कारबाही सदरका लागि संसद सचिवालयमा पत्र पठाएको थियो । तर यसपटक जनमतको पत्र सुभामुखसम्म नपुग्दै सांसद सापकोटालाई सांसदबाट हटाउने पत्र अस्वीकृत भएको छ ।

संसद सचिवालयका महासचिव पाण्डेयले यसअघि सभामुखबाट अस्वीकृत हुँदाकै समयको कारबाहीको विवरण रहेको उल्लेख गर्दै थप निर्णय गर्न नपर्ने निर्णय गरिदिएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतले सांसद सापकोटालाई हटाउन पटक पटक प्रयास गरिरहे पनि केही आन्तरिक विषयले अप्ठ्यारो भएको बताइन्छ ।

सापकोटालाई हटाउने प्रकरणले अन्य सभासदहरु पनि भयभीत भएको बताइन्छ । जनमत पार्टीका प्रवक्ता शरद यादवले सांसद सापकोटाले प्रतिनिधिसभामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीमा समेत सक्रिय नरहेकाले पार्टीले पदमुक्त गरेको बताएका छन् । पार्टी कार्यालयमा नआउने, लेखेर दिएको विषय पनि संसदमा पढ्न नसक्ने सापकोटालाई पार्टीले रितपूर्वक हटाउन चाहेपनि संसद सचिवालयबाट सहयोग नभएको आरोप जनमत पार्टीले लगाएको छ ।

पार्टीको नीति, निर्देशन विपरीत कार्य गर्ने समानुपातिक सांसदलाई प्रक्रिया पु¥याएर हटाउने प्रावधान रहे पनि सापकोटालाई पार्टीले साधारण सदस्यबाट समेत हटाइसकेको अवस्थामा उनी सांसद रहिरहेका छन् । जनमत पार्टीमा अध्यक्ष डा.सी.के. राउतबाहेकका सबै सांसद समानुपातिक नै छन् । राउतले सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका छन् । राजनीतिक रुपमा पछाडि परेका जात, जाती, समुदायबाट समानुपातिक प्रणाली मार्फत नीति निर्माण तहमा पु¥याउने प्रावधान रहेको छ । तर दलहरुले आफन्त, रकम बुझाउनेहरुलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा र प्रदेशसभामा पु¥याउने गरेका छन् । जसकारण साना दलहरुमा हटाउने र राख्ने विवाद हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News