अपडेट 
२०८१ श्रावण ३१, बिहीबार १८:०२

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधवारबाट सञ्चालनमा (चार्ज) ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो । डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् ।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुईथान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ ।

सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुने प्राधिकरणले जनाएको छ । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए ।

यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ । ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिने छ । यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको जनाएको छ ।

लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ । त्यसमध्ये २ वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन आयोजना करिब ३ वर्षअघि सुरु गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News