अपडेट 
२०८१ भाद्र १, शनिबार ०८:०६

विनोबाभावे भारतका सुप्रसिद्ध सामाजिक तथा राजनीतिक अभियन्ता थिए । महात्मा गांधीको उत्तराधिकारी मानिने भावे भारतीय स्वतन्त्रता आन्दोलनमा अहम् भूमिका निर्वाह गरेका थिए । राष्ट्र निर्माणको लागि भू–यज्ञ (आन्दोलन) गरेका थिए । श्रीमद्भागवत गीतालाई आफ्नो जीवनको आधार मान्ने विनोबाभावे ‘ गीतातत्व’ नामले गीताको टिका पनि लेखेका थिए, जो अत्यन्त लोकप्रिय भयो । खासमा कर्मयोगको विषयमा उहाँले प्रस्तुत गर्नु भएको यस उदाहरणको निकै चर्चा भएको थियो ।

विनोबा लेख्नु भएको छ– नगरबाट टाढा एउटा सुन्दर गाउँ थियो । गाउँलेहरुको मुख्य पेशा कृषि थियो । वर्षा, बाढी, सुखा, अनिकालबाट जुध्नु परे पनि उनीहरु आँघी प्रशन्न थिए । एक दिन गाउँमा एउटा साहुकार आए । उनले ठुलो उद्योग स्थापना गर्ने भन्दै किसानहरुसंग जग्गा भाडामा मागे । साहुकार खेतमा उत्पादन हुने बालीभन्दा दोब्बर भाडा दिने प्रलोभन दिएका थिए । अधिकांश किसान साहुकारको शर्त मानेर जग्गा भाडामा दिए । तर एक जना किसानले बूबासंग सोधेर मात्र जग्गा भाडामा दिने भन्दै सल्लाह गर्न घर गए । बूवालाई घर बसि– बसि खेतको उब्जनीभन्दा बढि आम्दानी हुने साहुकारको शर्त सुनाए । एकछिन चुप्प लागेर उनको बुबाले भने छन्– ‘खेत भाडामा दिएपछि हामी स–परिवार के गर्ने ? ’ छोराको जवाफ थियो– ‘दोब्बर आम्दानी भएपछि मिठो–मसिनो खाएर बस्ने ।’ बुढा, कृष्णले अर्जुनलाई गीताको ज्ञान दिए जस्तै छोरालाई सम्झाउँदै भन्नु भयो– ‘बेटा हामी खेत भाडामा दियौं भने चारै ऋतुको आनन्द लिन सक्दैनौं ।

अनिकालको दुःख र वर्षाको खुसीको अनुभव गर्न सक्दैनौं । खेतको लहलहाउँदो बाली देखेर मख्ख पर्ने अनि बगैँचामा कू कू बोलेर दुःख हरण गर्ने कोइलीको स्वरबाट वञ्चित हुन्छौं । गाई–गोरुको सेवा र ममत्वबाट वञ्चित हुन्छौं । कर्मयोग भनेको काममा रमाउँनु हो, बेटा । घरमा बसि बसि मिठो मसिनो खानेहरु खुसीहुनै सक्दैनन् । त्यसैले अरुले जेसुकै गरुनहामी सपरिवारखेतीमै रमाउँछौं । साहुकारलाई खेत भाडामा दिन्नौं ।’ सुस्वादु ‘आँपगाउँ’को रुपमा चर्चित तथा नेपाल सरकारले ‘आँप पकेट’ घोषणा गरेको धनुषको बटेश्वर गाउँपालिका– १ स्थित चित्रपुरका किसानहरु आज जन्दा देवी सोलार प्रा.लि. नामक यस्तै साहुकारको प्रलोभनमा फँसेका छन् ।

चित्रपुरमा लहलहाउँदो ८० विघामा फैलिएको आँपको बगैँचा मासेर सौर्य प्लान्ट स्थापना गर्ने लगभग पक्का भएको छ । केही किसान राजिखुसी प्रतिकठा ८ हजार रुपैयाँ वार्षिक पाउँने लोभमा जन्दा देवी सोलार प्रा.लि.संग जग्गा भाडामा दिने समझौता गरिसकेका छन् । केही सम्झौता गर्ने क्रममा छन् ।

कर्मयोगमा विश्वास गर्ने एक–आध किसान आँपको बगैँचा मासेर सोलार प्लान्टको लागि जग्गा भाडामा नदिने अडानमा पनि छन् । आँपको कथा सुन्न दुई वर्ष अघि म पनि चित्रपुर पुगेको थिए । प्रिय संचारकर्मी भाईहरु शैलेन्द्र क्रान्ति, जीतेन्द्र सिंह कुशवाहा, रोहित महतो, फुलगेन महतो, दीपेन्द्र सिंह कुशवाहाको साथमा सिंगै गाउँ डुलेको थिए । ताजा र गछपक्कु आँप, कटहल र लिचीको स्वाद चाखेको थिए । फर्किने बेला आँप, कागती, कटहल ‘सनेस’ बोकेर घर फर्केको थिए ।

त्यतिबेला गाउँलेहरुले सुनाउँनु भएको आँपको बगैँचा लगाउँने अभियानबारेको कथा–व्यथा आज ताजा भएर आएको छ । चुरे फेदको चारकोसे जंगल फडानी गरेर करिब आठ दशकअघि चित्रपुर, हरिहरपुर, दिगम्बरपुर, शान्तिपुर, कालिपुर, बटेश्वर, जमुनिवास, बेंगाडावर आदि गाउँ बसालिएको थियो । नयाँ माटो उब्जाउ हुने भए पनि पानीको स्रोत थिएन । आकाशे पानीको भरमा खेती हुन्थे । नजिकको बढहरी, बिगही, सुखजोड लगायतका नदी तथा खोलामा पानी त हुन्थ्यो, तर पानी खेतसम्म ल्याउने कुलो थिएन ।

खानेपानीको समेत कठिनाई भएको बेला सिँचाइको लागि पानीको जोहो कसले गर्ने ? पून्य देव महतोले भन्नु भएको मलाई अझै पनि स्मरण छ– ‘त्यतिबेला गाउँमा मकै, कोदो, तरुल आदिको खेती मात्र हुन्थे । जंगली बंगुर र निलगाईको उत्पात पनि त्यतिकै थियो । मिहिनेत गरेर लगाएको बाली जंगली जनावर नष्ट गरेर जान्थे ।

गाउँमा यतिसम्म गरिबी थियो, कि अर्को गाउँका मानिसहरु यस गाउँमा छोरी दिन मान्दैन्थे ।अनि पानीको आभाव र जंगली जनावरको उत्पातबाट जोगिन गाउँका अगुवाहरुले सामुहिक आँप खेती गर्ने निधो गरेका थिए । ग्रामीणहरुको सहमतिमा २०१६÷०१७ सालतिर म र हिराई महतो जनकपुरधामबाट विरुवा ल्याएर पहिलो पटक आँपको बोट रोप्यौं । विरुवा सप्रिन थालेपछि अर्को वर्षदेखि सबैले रोप्न थाले ।’ चित्रपुरका बुढा पाकाहरुका अनुसार, आँप, लिचि, कटहर, कागती, सीताफल, सरीफासंगै तरकारी खेती यस गाउँको पहिचान मात्र होइन, आर्थिक आधार हो । गाउँ स्थापनाको इतिहास हो । तर आज चित्रपुरको हरियो इतिहास माथि सौर्य प्यानेलको चम्किलो तलवार झुण्डिएको छ ।

स्थानीय कुशेश्वर महतो सामाजिक संजालमा आँप खेती र सोलार प्यानल स्थापना गर्दा किसानहरुलाई हुने लाभ र हानीको लेखा–जोखा प्रस्तुत गर्नु भएको छ । उनले लेखेका छन्– १ कठा जग्गामा ४ वटा आँपको रुख रोप्न सकिन्छ । एउटा रुख सरदर ३०० किलो फल दिन्छ । यसरी १ कठ्ठामा सरदर १ हजार २ सय केजी आँप उत्पादन हुन्छ ।

प्रति केजी २० रुपैयाँकै दरले बिक्री भए पनि किसानहरुले १ कठ्ठामा २४ हजारसम्म आम्दानी गर्न सक्छन् । जबकी जन्दा देवी सोलार प्रा.लि.प्रति कठ्ठा ८ हजार दिने सम्झौता गरेको छ । कुशेश्वर महतोकै हिसाबलाई आधार मान्ने हो भने सोलार प्लान्ट स्थापना भएपछि चित्रपुरमा प्रति कठ्ठा ४ बोटको हिसाबले ८० विघामा लगाइएका ६ हजार ४ सय आँपको रुख काटिने छ । हो, सरकारी उपेक्षाका कारण आँप, कटहल, सरिफा, कागती, सीताफल आदि उत्पादन गर्ने किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउँन सकेका छैनन् । ती उत्पादनहरु समयमा बाजारसम्म पुग्न सकेका छैनन् ।

कोल्ड स्टोरको आभावमा फलफूल लामो समयसम्म टिक्न सक्दैन । किसानहरु परिश्रम अनुसारको आम्दानी पाउँन सकेका छैनन् । चित्रपुरवासी आँपलाई व्यवसायीकरण गर्न यस वर्ष आँप महोत्सव आयोजन गरेका थिए । तर किन हो कुन्नी तीनै तहको सरकारको ध्यान चित्रपुरका किसानसम्म पुग्न सकेन ।

रुख कटानी तथा पर्सा वनजन्तु आरक्षका जनावरहरुको बास स्थानलाई क्षति पु¥याएर हवाई अड्डा निर्माण गर्नु हुन्न भन्ने पर्यावरण अभियन्ताहरुको विरोधको कारण राष्ट्रिय गौरवको निजगढ अन्तर्र ाष्ट्रिय विमानस्थलको निर्माण कार्य झण्डै तीन दशकदेखि अवरुद्ध छ । तर धनुषा चित्रपुरमा ८० बिघा आँपको बगैँचा मासेर बन्न लागेको सोलार प्लान्टबारे पर्यावरण अभियन्ता तथा तीनै तहका सरकारको मौन छन् । यसै पनि चुरे विनासको कारण नदी, पोखरी, इनार सुक्ने भएर खानेपानी समेतको हाहाकार हुने चित्रपुरमा रुख मासेर सोलार प्यानेल बनाउँदा पर्यावरणको अवस्था के होला ? ती नदी, पोखरी र इनारहरुको अवस्था के होला ?

Comment


Related News

Latest News

Trending News