अपडेट 
२०८१ भाद्र २, आईतवार ०७:५५

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव लीलामणि पोख्रेलले मुलुक अत्यन्तै संकटपूर्ण अवस्थामा रहेको बताएका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको १९ औँ स्मृति दिवसमा बोल्दै मधेश प्रदेशका इन्चार्जसमेत रहेका सचिव पोख्रेलले अहिलेको नेकपा एमाले–नेपाली कांग्रेसको सत्ताधारी गठबन्धनले संघीयतालाई सखाप पार्न लागिपरेको आरोप लगाए । उनले दश वर्षे जनयुद्ध, तेश्रो जनआन्दोलन, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको औल्याए ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको लागि जनयुद्ध भएको स्मरण गर्दै सचिव पोख्रेलले वर्तमान सत्ता गठबन्धनको सरकारले संघीयता, समानुपातिक आरक्षणको व्यवस्था, प्रदेश सरकारलाई कमजोर पार्ने खाले विविध षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए । उनले संघीयता विरोधीको नेतृत्वमा सरकारमा रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशी समानुपातिक, अधिकारलगायतको संरक्षणका लागि आ–आफ्नो ठाउँमा एकपटक फेरी उठ्नुपर्ने बेला आएको बताए । उनले भने, ‘यो देशमा परिवर्तनका निमित्त माओवादीदेखि मधेश केन्द्रित दललगायत विभिन्न अधिकार प्राप्तिका लागि नयाँ दलहरुले आन्दोलन गरेर मुलुकमा परिवर्तन भएको हो, परिवर्तनकारी शक्तिहरु सत्ता केन्द्रित हुँदा पुराना दलले आफूलाई लोकतान्त्रिक शक्तिको नाममा एकअर्का विरुद्ध लडाएर सिध्याउन खोजे र अहिले फेरी पनि त्यही पुराना दलहरु एकजुट भएर मुलुकमा भएको परिवर्तन र परिवर्तनकारी शक्तिविरुद्ध राज्यको शक्ति दुरुपयोग गर्नतर्फ लागे ।’ उनले अघि थप्दैँ भने, ‘मुलुक अहिले निकै तरल अवस्थामा छ, त्यसैले फेरी पनि आन्दोलनको आवश्यकता छ ।’

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रवण यादव जीवनले शहीदले दिएको बलिदानी खेर नजाने भन्दै उनले शहीदको सपना पूरा गर्नका लागि हामी निरन्तर आन्दोलन र संघर्षमा रहेको स्मरण गरे । शहीद चन्देश्वर मण्डलको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्र समेत सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको मिथिलविहारी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्यामकुमार मण्डलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News