अपडेट 
२०८१ भाद्र ३, सोमबार १४:२१

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।

भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि भारतले ६ सय ९० मेगावाट बिजुली खरिदको स्वीकृति दिएकोमा अहिले २ सय ५१ मेगावाट थपेर कुल २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली किन्ने भएको हो । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गएको आर्थिक वर्षमा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ ।  इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरू गरेकोमा अहिले भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आउँदो १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म बिजुली बिक्री गर्ने परिकल्पना गरेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा पुगेको छ । बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता टुङ्गो लागेर गएको साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तर बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हस्ताक्षर स्थगित भएको छ ।

Comment


Related News

Latest News

Trending News