२०८१ भाद्र ४, मंगलवार ०७:२७

मिथिलाञ्चलमा सुरु भएको झुलनोत्सव पर्व सोमबार सम्पन्न भएको छ ।

भदौँको तृतीयादेखि पूर्णिमासम्म मनाइएको सो पर्व गएराति भगवान् रामचन्द्र र माता जानकीलाई जानकी मन्दिसहित विभिन्न मठमन्दिरमा अन्तिम पटक झुला झुलाउँदै झुलनोत्सव पर्व सम्पन्न भएको छ । तृतीयादेखि पूर्णिमासम्म चलेको झुलनोत्सवका अवसरमा जानकी मन्दिरमा प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् राम सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा झुलाइएको थियो ।

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधामका जानकी मन्दिरसहित विभिन्न मठमन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धूमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरू मिलेर झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ गएराति अन्तिम झुला रहेकाले रातभरि झुला झुलाइएको छ । झुलनोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि श्रद्धालु भक्तजन आएका थिए ।

मिथिला क्षेत्रमा प्रत्येक वर्ष रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनकता सुरु हुन्छ भने प्रत्येक मठमन्दिरमा राति अबेरसम्म कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरू जम्मा हुने भजनकीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने प्रचलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ ।

Comment


Related News

Latest News

Trending News