अपडेट 
२०८१ भाद्र ६, बिहीबार ०८:१५

बाटो जीर्ण भएका कारण दैनिक जसो दुर्घटना हुन थालेपछि सप्तरीको राजविराज–छिन्नमस्ता सडक खण्डमा गाउँपालिका अध्यक्ष, पूर्वमन्त्री, वडाअध्यक्ष, सवारी चालक र सर्वसाधारण लगायत दुई घण्टा सम्म सडकमै धर्नामा बसेका छन् ।

छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी सडक खण्डमा बुधबार बिहान १० बजे देखी १२ बजेसम्म बीच सडकमै यसरी धर्ना दिइएको छ । छिन्नमस्ता गाउँपालिकाले व्यापक सहभागितामा, “छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस चलाएका छन् ।

धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै ठूलो संख्यामा भक्तजन र स्थानीयवासी समेत सहभागि भए । सडक मर्मतको माग गर्दै कुनै जनप्रतिनिधिद्वारा आवागमन ठप्प पारी बीच सडकमै दुई घण्टा धर्ना र कार्यक्रम गरिएको जिल्लामै यो पहिलो पटक हो ।

छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ । भारतीय दर्शानार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि जीर्ण बाटोका कारण यात्रुले सास्तीय खेप्नु परिरहेको छ । राजविराजबाट १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटो ठाउँठाउँमा खाल्डा खुल्डीका कारण पानी जमेर पोखरी बनेपछि थप समस्या भएको स्थानीयहरुको भनाइ छ ।

दिनहुँजसो दुर्घटना हुन थालेपछि जोखिम मोलेर टेम्पु सेवा संचालनमा ल्याउँदै गरेको चालक बद्री राउतले बताए । सडक पोखरीमा परिणत भएपछि सवार ीसाधनबाट यात्रु ओराल्दै र चढाउँदै लैजानु परेको उनको कथन छ । बाटो बिग्रेका कारण १० किलोमिटरको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेको छ । बाटो ठिक रहँदा ३० रुँपैया भाडा लाग्ने ठाउँमा अहिले ७० रुपैयाँ तिरेर यात्रा र सास्ती खेप्नु परेको भन्दै स्थानीयले अविलम्ब उक्त जीर्ण सडक मर्मत सम्भार गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

सडक विभागले टेण्डर खोलेर ठेक्का दिएको पनि दुई वर्ष बढी भइसकेको छ । तर, ठेकेदारको लापरवाही र सरकारको वेवास्ता कारण यस्तो समस्या भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको भनाई छ । उक्त सडक मर्मतको माग गर्दै आफूहरु गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौं पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको उनले सुनाए ।

धर्नामा बसेका पूर्वमन्त्री उमेशकुमार यादवले धार्मिक र ऐतिहासिक महत्व बोकेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटोको बेहाल हुँदा पनि राज्यको ध्यान पुग्न नसक्नु दुःखद भएको बताए । ठेक्का लागिसकेको सडक बनाउन ठेकेदारले लापरवाही गर्नु र राज्यले पनि समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न नसक्नु लाजमर्दो र निन्दनीय विषय रहेको भन्दै उनले जनस्तरबाटै दबाब दिन र खबरदारी गर्न सडक जाम गरि यस्तो कार्यक्रम गरिएको बताए ।

सरोकारवालाको कमीकमजोरीका कारण छिन्नामस्तासम्म पुग्ने बाटोको दुर्गति भएको गुनासो गर्दै स्थानीयवासीले अविलम्ब सो सडकखण्डको मर्मत सम्भार गर्नुपर्ने माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News