राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ ।
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानुन प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे । उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए ।