अपडेट 
२०८१ भाद्र ६, बिहीबार १९:२१

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराउने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवा सुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो ।

बोर्डले परिमार्जन गरेको सुविधा थैली गएको साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेका कारण भदौदेखि लागू भएकाे हो । बोर्डले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको दुई सय थियो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा  दुई लाख रुपैयाँसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको बोर्डले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News