अपडेट 
२०८१ भाद्र ६, बिहीबार १९:२८

नेपाली टोली आफ्नो समूहको विजेता बन्दै साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई २–१ गोलले हरायो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा तीनवटै गोल पहिलो हाफमै भएको थियो । पहिलो हाफमै नेपालले बंगलादेशमाथि २–१ गोलको अग्रता लिएको थियो । नेपालले तीन मिनेटको बिचमा दुई गोल गरेको थियो ।

नेपालका लागि समिर तामाङ र निराजन धामीले एक–एक गोल गरेका हुन् । भ्रमणकारी टोली बंगलादेशका लागि भने एकमात्र गोल मिरजुल इस्लामले गरेका थिए । खेल सुरु भएको १७औँ मिनेटमै समिर तामाङले आकर्षक गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटपछि १९ औँ मिनेटमा निराजन धामीले नेपाली टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि निर्धारित समयको ४३ औँ मिनेटमा बंगलादेशका लागि मिरजुल इस्लामले एक गोल फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् । नेपाल र बंगलादेश दुबै टोली यसअघि नै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको थियो । बिहीबारको खेलले समूह विजेताको टुंगो लगाएको हो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दुबै खेलमा जित हात पार्यो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । त्यो खेलमा पनि नेपालका लागि निर्णायक गोल निराजन धामीले नै गरेका थिए ।

दुईमध्ये एक खेलमा विजयी भएको बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो । उक्त समूहमा तेस्रो टोलीको रुपमा रहेको श्रीलंका भने दुई हारसँगै उपाधि होडबाट बाहिरिएको हो ।

Comment


Related News

Latest News

Trending News