आज बिहानैदखि बाराको सिमरा, परवानीपुर र कलैया आसपासको क्षेत्रमा ठूलो पानी परेको छ ।
पानी ठूलो परेकाले दुधौरा, पसाह, बकैया लगायत यो क्षेत्र भई बहने अन्य साना खोलाहरूको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाराको दुधौरा खोला गढीमाई जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूलाई सर्तकता अपनाउन भनिएको छ । आउँदो तीन दिन बारा, पर्सा, मकवानपुर र आसपास भइ बहने धेरैजसाे स–साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने पूर्वानुमान रहेको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह भने सतर्कता तह तलै रहने महाशाखाले जनाएको छ ।