कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि मधेश प्रदेश सरकार, संसद, गैरसरकारी संस्था र संचारमाध्यमले साझा प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्कले वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा भएको कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि छलफल कार्यक्रममा मधेश प्रदेशका मन्त्री, संसदीय समितिका सभापति, सांसदहरु, मधेश प्रदेश नीति आयोगका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधी, धार्मिक अगुवा र सञ्चारमाध्यमका प्रतिनिधिले साझा प्रतिवद्धता व्यक्त गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाममा शुक्रबार भएको कार्यक्रममा शिक्षा तथा संस्कृती मन्त्री रानीकुमारी तिवारीले बाल पोषण, सुत्केरी र नवजात शिसुको पोषणका बिषयमा समाजमा रहेका गलत मान्यता हटाउन सञ्चार माध्यमलाई साथ लिएर शिक्षामुलक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सो कार्यक्रममा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइतले सबैको साझा प्रयासबाट मात्रै अन्य प्रदेशको भन्दा कमजोर रहेको पोषणको अवस्थामा सुधार गर्न सकिने भन्दै आफुहरुले आवस्यक कानुनहरु निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रसासक लिला रम्ब अधिकारीले मधेशको पोषणको अवस्था र त्यसमा सुधारका लागि सञ्चार माध्यम तथा सरोकारवालाले खेल्नु पर्ने भूमिकाको बारेमा प्रस्तुती गरे । सो कार्यक्रममा महिला बालवालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव, पूर्व राज्यमन्त्री सञ्जय यादव, मधेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमूख विनोद यादव, बिभिन्न धर्मका धर्मगुरुहरुले आफ्नो तर्फबाट पोषण सुधारका लागि गरिएको इनफ अभियानमा एकजुट हुने प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा अकोराबका महासचीव किशोरजंग थापाले सामुदायिक रेडियोहरु पोषणको सुधारका लागि जनचेतना फैलाउन सधै खटिरहने बताए । जंक फुड प्रयोग नगर्न जनचेतना फैलाउने काम गरिरहेको बताउँदै दीपक आचार्यले खानपानको बानि व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए ।