अपडेट 
२०८१ भाद्र ९, आईतवार ०८:१४

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पद छाड्न चर्को दबाब परेको छ । दुई महिनाभित्र संसदीय दलका नेता पदबाट राजीनामा दिन उनलाई निर्देशन दिइएको छ ।

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशसभा सदस्यहरुको टोलीसंगको छलफलको क्रममा संसदीय दलका नेता साहलाई दुई महिना भित्रमा राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन निर्देशन दिएका छन् ।

काठमाण्डुस्थित खुमलटार निवासमा शनिबार भएको छलफलपछि प्रचण्डले संसदीय दलका नेता साहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको प्रदेशसभा सदस्य सुनिता यादवले जनाएकी छन् । माओवादी संसदीय दलको कार्यालयमा पूर्वमन्त्रीसमेत रहेका नेता साहविरूद्ध ६ जना प्रदेशसभा सदस्यले गत असारमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

दुई तिहाई सदस्यले दलको नेताबाट साहलाई हटाउन दर्ता गरेको प्रस्तावलाई प्रक्रियामा नलगेपछि असन्तुष्ट सभासदहरुले अध्यक्ष प्रचण्डलाई गुहारेका थिए । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीका सबै ९ जना प्रदेशसभा सदस्यलाई अध्यक्ष प्रचण्डले काठमाण्डु बोलाएका थिए । शनिबार भएको छलफलमा सभासदहरुले आ–आफ्नो गुनासोसमेत प्रस्टरुपमा राखेपछि संसदीय दलका नेता साहलाई पदीय मर्यादा कायम राख्दै राजीनामा दिन अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् ।

छलफलको क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ लगायत अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । संसदीय दलका नेता साहमाथि विभिन्न आरोपहरुसमेत प्रदेशसभा सदस्यहरुले लगाएका छन् । साहमाथि दलका नेतादेखि मन्त्री बन्नसम्मका लागि विभिन्न खाले षड्यन्त्र र चरम् गुटबन्दी गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् ।

गत असार २५ गते ६ जना प्रमुख सचेतक फकिरा महतोसहित प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराईलाई नै बुझाएका थिए । साह अर्थमन्त्री रहँदा बजेट बनाउने क्रममा अनियमितता गरेको, संसदीय दलको बैठकमा भएका छलफल तथा सरसल्लाहलाई बेवास्ता गरेको र सरकारको आर्थिक वर्षको बजेटमा आफैले चलखेल गरेर पिएलएमबिआइएस सिस्टममा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको आरोप नेता साहमाथि लगाएका छन् ।

माओवादी समेतको समर्थनमा रहेको तत्कालिन जनता समाजवादी पार्टी(नेपाल)नेतृत्वको सरकारलाई ढाल्न अग्रणी भूमिका निर्वाह गरेका साहलाई १ महिना भित्रै बर्खास्त गरी माओवादीलाई सरकारबाट हटाइएको आरोप सभासदहरुले लगाए । ‘साहकै चरम महत्वाकांक्षाको कारण मधेश प्रदेशमा माओवादी सरकारबाट बाहिरिनु परेको हो’ पूर्व मन्त्री यादवले भनिन्, ‘वहाँले पार्टीका शीर्ष नेताहरुलाई सँधै भ्रममा पारे र आफू पदासीन भइरहे ।’ सरकारमा सहभागी हुने क्रममा सबै अवसरहरु नेता साह आफैले ओगट्ने गरेको, पटक पटक मन्त्रीदेखि मुख्यमन्त्री बन्नका लागि भारतको सीमावर्ती क्षेत्रमा समेत गोप्य बैठक बस्ने गरेको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् ।

मुख्यमन्त्री बन्नका लागि नेता साहले भारत बिहारको सुरसण्डमा बसेको गोप्य बैठकबारे शीर्षनेताहरुलाई समेत जानकारी नदिइ प्रदेशसभा सदस्यहरुलाई षड्यन्त्र गरेको आरोप लगाइएको पूर्वमन्त्री यादवले बताइन् । अध्यक्ष प्रचण्डसितको छलफलमा सहभागी सभासदहरुले अन्य पार्टीका संसदीय दलका नेताहरुसंग गोप्य वार्ता गरेको आरोप अर्का प्रदेशसभा सदस्यले लगाए ।

माओवादी केन्द्रको संसदीय दलको विधान अनुसार दलका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले दलको नेतामाथि विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेस गर्न सक्ने व्यवस्था रहेको छ । नेता साहले अध्यक्षले पार्टीलाई मिलाएर लैजान निर्देशन दिएको बताए । उनले राजीनामा नै दिनुपर्ने गरी निर्देशन नदिएको जिकिर गरे ।

यता नेता साहले दुई महिनाभित्रमा राजीनामा नदिएमा संसदीय दलको बैठकबाट दुई तिहाई प्रदेशसभा सदस्यले संसदीय दलको कार्यालयमा दर्ता गराएको अविश्वास प्रस्तावलाई अघि बढाई कारबाही प्रक्रिया अनुसार संसदीय दलको नेतामा नयाँ नेतालाई चयन गरिने प्रदेशसभा सदस्य यादवले बताइन् । मधेश प्रदेशमा माओवादी भित्रको अन्तरकलहले पार्टी नै धराशायी हुने अवस्थामा पुगेको स्थानीय नेताहरुले बताउन थालेका छन् । केन्द्रीय गुटबन्दीको प्रभाव र प्रदेशस्तरमा अति महत्वाकांक्षी नेताहरुका कारण पार्टी संगठन दिनानुदिन कमजोर भएको नेताहरुले स्वीकार्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News