अपडेट 
२०८१ भाद्र ९, आईतवार १७:२४

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियन्ताहरूलाई मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिँहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए ।

‘सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दुरीमा रहनुपर्ने कारणले समस्या छ । तर, यसको समाधान पनि खोजिनेछ,’ उनले भने ।
मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ्मार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्य कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिँहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटाशक औषधि, मलखाद र उपकरणको व्यवस्थ, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बटेश्वर नगरपालिका क्षेत्रमा सङ्घ सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत सञ्चालित छ ।

Comment


Related News

Latest News

Trending News