अपडेट 
२०८१ भाद्र १०, सोमबार ०७:४१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको आइतवार उद्घाटन गर्दै जनताको मुद्दालाई लिएर सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।

गत जेठ महिनाको अन्तिम हप्तामा पार्टीको एकताको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका अध्यक्ष यादव संगठन सुदृढीकरणलाई ४ महिने अभियानको रुपमा अगाडि सारेका छन् । सरकारमा रहेकै बेला सरकारको नेतृत्व गरिरहेका दलहरुले नै पार्टी विभाजन गरेपछि आहत भएका अध्यक्ष यादवले जनतालाई सचेत र संगठित गर्न ४ महिने अभियान चलाएको बताए । ‘अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरू र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने छौँ’ उनले भने, मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन । उनले जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्नेमा जोड दिए । पार्टी विभाजन विरुद्ध निर्वाचन आयोग समेतमाथि सर्वोच्च अदालतमा उनले गरेको मुद्दाको आगामी १३ गते फैसला हुने सम्भावना छ ।

मुद्दाको फैसलाले जसपा नेपालको अभियान प्रभावित हुने बताइन्छ । पक्षमा फैसला भए मौन रहेका जसपा नेपालका नेता, कार्यकर्ताहरु सक्रिय हुने र विपक्षमा फैसला आए पार्टीबाट असन्तुष्टहरु पलायन हुने सम्भावना छ । उनले भने, ‘जनतालाई सचेत र संगठित गर्नका लागि ४ महिने अभियान चलाएका हौँ ’ अध्यक्ष यादवले भने, अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्षमा जानैपर्छ । उनले अघि भने, ‘ मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन ।’ अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।

पहिलो चरणमा बागमती प्रदेशका अभियन्ताहरुलाई प्रशिक्षित गरेर अभियानको शुभारम्भ गरिएको छ । कार्यक्रममा वरिष्ठ नेता राजकिशोर यादवलगायत बागमती प्रदेशका पदाधिकारी र कार्यकारणी समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेशमा भने अभियानको जनकपुरधाम र वीरगञ्जमा अभिमुखीकरण गरिने छ । भदौँ १५ गते सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि प्रदेश राजधानी जनकपुरधाममा र १६ गते रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कोशी प्रदेशको विराटनगरमा भदौँ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा भदौँ २३ गते र नेपालगञ्जमा भदौँ २४ गते अभिमुखीकरण कार्यक्रम हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News