अपडेट 
२०८१ भाद्र १०, सोमबार ०७:५१

शुक्रबारदेखि आइतबारसम्म सवारी दुर्घटनाबाट ३१ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चारजना अझै बेपत्ता भएका छन् । गएको शुक्रबार देशभर सानाठूला गरी ६ वटा दुर्घटना भएका छन् ।

सबैभन्दा ठूला दुर्घटना तनहुँको आबुखैरनीमा भयो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को ऐनापहरास्थित मस्र्याङ्दी नदीमा पोपोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भए । भने एक जना बेपत्ता भए । बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

सो दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकलाई शनिबार नै भारत पठाइएको छ भने १६ जना घाइते काठमाण्डु स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए । त्यस्तै, सोही दिन पोखरामा विद्यालयको बस दुर्घटना परेको थियो । शुक्रबार दिउँसो पोखरा महानगरपालिका–१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भए ।

पोखरा ८ मा रहेको एक स्कुलको ग १ क ४६६१ नम्बरको बस रोडबाट तल रोकिराखेका ट्याक्सीमाथि खसेको थियो । दुर्घटनामा बस चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका प्रहरी निरीक्षक किरण थापाले बताए । उनले दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको बताए । बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ । त्यस्तै, तनहुँको मस्र्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भयो । रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।

चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सत्रकिलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । उनले अहिलेसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको बताए । शुक्रबार नै काठमाण्डुबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भए ।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ । त्यसैदिन बिहान पोखरा सिर्जनाचोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो । मृत्यु हुनेमा पर्वतको पैयु गाउँपालिका– ७ स्थित हिले घर भइ हाल पोखराको औद्योगिक क्षेत्र बस्दै आएका ३३ वर्षीय सुशान्त गुरुङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मेट्रोसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रबार राति मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका– ४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको मृत्यु भएको थियो । सर्लाहीको बरहथवा नगरपालिका–१० को सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको ज्यान गएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएको र घटनास्थलमै उनको मृत्यु भएको सर्लाही प्रहरीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निरबहादुर सारूको घटनास्थलमै मृत्यु भयो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । त्यसैगरी शनिबार मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भए ।

शनिबार साँझ खोटाङबाट भक्तपुर आइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ स्थित कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता बताए । त्यस्तै अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ कोशी बाँधस्थित सडकमा स.२ प ७२ ९६ नम्बरको मोटरसाइकल र को.३४ प ५४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा स.२ प ७२ ९६ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१५ का ५२ वर्षीय बिनोद कुमार साहको घटनास्थलमै मृत्यु भयो ।

यसका साथै दुर्घटनामा घाइते भएका को.३४ प ५४४९ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै झापाको दमक नगरपालिका–९ को चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०२०४१ प ५०८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूषको शनिबार विहान मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै आइतबार बिहान मुग्लिङ– नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

त्यस्तै महेन्द्रनगरबाट काठमाण्डु जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२– ००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो। दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइँदै गरिएको छ । हरेक दिन भयानक सवारी दुर्घटनाका कारण आम नागरिक त्रसित भएका छन्। हरेक दिन नेपालीहरू समाचारमा मृत्युको हेडलाइन बन्न बाध्य भइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बढिरहेको सवारी दुर्घटना न्यूनीकरणमा लाग्न सबैपक्षसँग अनुरोध गरे । तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनापछि सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तनहुँ दुर्घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह गर्दछ ु।’

नेपाल यातायात महासंघका अध्यक्ष विजय स्वारले दुर्घटनाको मुख्य कारण सडकको पूर्वाधारको अवस्था जोखिमपूर्ण रहेको बताए। सरकारले पूर्वाधार निमार्णमा गम्भीर हुनुपर्ने उनको जोड दिए । पूर्वाधारको अवस्था हेर्दा सवारी चालकहरू जोखिम लिएर सवारी चलाइरहेको पनि उनले बताए । उनले भने, ‘कति स्थानमा चालकहरूले आफ्नो ज्यान फालेर पनि चालकहरूले यात्रुलाई बचाइरहेका छन् ।’ उनले अघि थप्दैँ भने, ‘यहाँ चालकलाई मात्र दोष लगाएर अन्य सम्बन्धित क्षेत्र पन्छिन मिल्दैन ।’

हामीले व्यावसायिक सवारी चालकहरू निर्माण गर्न नसकेको स्वीकार गरे । ‘करिब १ लाख लाइसेन्स नक्कली वितरण भएको समाचार आइरहेको छ । चालकहरूलाई प्रशिक्षण पनि छैन’, उनले भने, ‘हामी व्यवसायीलाई यो नक्कली हो या सक्कली भनेर कसरी थाहा पाउने ? सवारी चालकको भेरिफिकेशन राज्यले गर्नुपर्छ।’ सरकारी रिपोर्टअनुसार करिब ७० प्रतिशत दुईपाङ्रगे सवारी दुर्घटना भइरहेको उनले बताए । दुर्घटना न्यूनीकरण गर्न राज्यले सवारी नीति ल्याउनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News