अपडेट 
२०८१ भाद्र ११, मंगलवार ०७:२१

साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहनगपालिका– १७ का रामआशिष यादव घर फर्केका छन् । सोमबार रुपन्देही पुगेर आफूलाई मृत्युदण्डबाट जोगाउन पहल गर्नेहरुसंग उनले भेटघाटसमेत गरेको परिवारजनले जनाएका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादवलाई ६ वर्ष साउदीको जेलमा बस्नु परेको थियो । त्यहाँको अदालतले फाँसीको सजाय सुनाइसकेको अवस्थामा पीडित परिवारजनलाई ४६ लाख रुपैयाँस्वरुप ब्लडमनि बुझाएर उनी हालै नेपाल फर्केका छन् ।

नेपाल फर्केपछि उनी ब्लडमनि स्वीकार गर्ने दुर्गाप्रसाद शर्माको परिवार, ब्लडमनि जुटाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र उद्योगी व्यवसायीहरुसंग भेट्न रुपन्देही पुगेका छन् । मृत्युदण्डको सजाय सुनाएको ६ दिन पहिला मृतकको परिवारजनले ४६ लाख रुपैयाँ बुझेपछि यादवले जीवनदान पाएका छन् । ‘साउदी अरबको पात्रो अनुसार दोस्रो महिनाको ११ तारिखमा मैले फाँसी पाउनेवाला थिएँ’, सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उनले भने, ‘रुपन्देहीका सीडीओ साबले ४६ लाख रुपैयाँ जुटाउन सहयोग गरेर दुर्गा दाइ (साउदीमा हत्या भएका) को मेडमलाई दिएर मिलापत्र गरेको कागज पठाएपछि म नयाँ जुनी पाएर फर्केको हुँ ।’

यादवले आफू साउदीबाट नेपाल आउनेबित्तिकै शर्माको परिवारसंग माफी माग्न, गल्तीको प्रायश्चित गर्न र आफूलाई बचाउन सहयोग गर्ने पीडित परिवार, आर्थिक सहयोग जुटाउन सहयोग गर्ने प्रजिअ अर्याल र रुपन्देहीका व्यापारीहरुलाई धन्यवाद दिए । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता व्यवसायीहरु पनि भेला भएका थिए । श्रीमती र छोरीहरुसहित आएका यादवले भावविभोर हुँदै सबैलाई धन्यवाद ज्ञापन गरे ।

ब्लडमनि जुटाएर आफ्नो ज्यान बचाउन प्रजिअ अर्यालको प्रमुख भूमिका रहेको भन्दै उनले भने, ‘एक जना सीडीओले मधेशको गरिब यादवको छोराको जीवन बचाइदियो, मैले उहाँलाई भगवान नै मानेको छु, म फाँसीमा गएको भए मेरी श्रीमती र तीन छोरीको बिचल्ली हुने थियो ।’ आमा–बुबा र तीन छोरीसहित ६ जनाको परिवारको जीविका चलाउन गाह्रो भएपछि यादव सन् २०१२ मा साउदी अरब पुगेका थिए । यादव र शर्मा साउदीमा पुल, सडक आदि बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे ।

शर्मा इलेक्ट्रिसियन थिए, यादव शुरुमा लेबरको काम गर्थे भने पछि मेकानिक भए । शर्मा र यादव करिब ८ महिनासम्म एउटै कोठामा बसे । पछि बस्ने कोठा अलग भए पनि खाना खाने भान्सा भने एउटै थियो । यादवका अनुसार उनीहरुबीच पैसा सापटी लेनदेन पनि भइरहन्थ्यो । ६ अक्टोबर सन् २०१८ मा क्यारेमबोर्ड खेल्दा उनीहरुबीच विवाद भयो ।

क्यारमबोर्डको गोटी खसेपछि सो गोटी टिप्ने क्रममा शर्मा लडेका थिए, पछि आफूले तानेर उठाउन खोज्दा उनको जनै चुँडियो र सोही निहुँमा दुबैबीच झगडा भयो । उनीहरुबीच लडाई भयो । झगडा गरिरहेको ठाउँमा निर्माण कम्पनीको छड र जस्तापाताका बण्डलहरु त्यहाँ थियो । शर्मा तिनै छड र जस्तापातामाथि घोप्टो परेर बजारिएर गम्भीर घाइते भए । यादवले भने, ‘सोही राति दुर्गा दाइको मृत्यु भएको रहेछ, मैले अर्को दिन बिहान मात्र थाहा पाएँ ।’ उनले अघि थप्दैँ भने, ‘ हामी दाजुभाइजस्तै मिलेर बस्दै आएका थियौं, कुनै रिसइबी पनि थिएन, रक्सीले नै घटना भयो, दाइको ज्यानै गयो, म पनि ६ वर्ष जेल गएँ ।’

हत्या अभियोगमा साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा यादवलाई ५ वर्ष कैद सजायको फैसला ग¥यो । ५ वर्षपछि दुबै परिवारबीच ब्लडमनिमा सम्झौता नभए मृत्युदण्ड हुने अदालतले फैसला गरेको थियो । विपन्न आर्थिक अवस्थाका यादवकी श्रीमती रेणुकुमारीलाई तीन छोरी हुर्काउनै कठिन थियो । उनले ब्लडमनिका लागि पहल गर्न पनि सकिनन् ।

काठमाण्डुस्थित कन्सुलर विभागले चैत १२ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनि’ वापत सम्झौताका लागि पत्र पठाएको थियो । कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनि सम्झौता भए/नभएको लेखेर पठाउन प्रशासनलाई भनेको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले यादवलाई बचाउन सकिन्छ कि भनेर चासो लिए ।

यादवकी पत्नी रेणुका मामा प्रभु यादव रामआशिष यादवलाई माफीको आशासहित रुपन्देही पुगे । प्रजिअ अर्याल प्रभुलाई लिएर मृतक शर्माकी श्रीमती सीता शर्माको घर पुगेर मिलापत्रको प्रस्ताव राखे । ‘सुरुमा उहाँले मान्नुभएन’, प्रजिअ अर्यालले भने, ‘ हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौं र पछि मनाउन सफल भयौं ।’ पटक–पटकको अनुरोध गर्दा पनि तीन महिनासम्म कुरा मिल्न सकेको थिएन ।

कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाँई, प्रजिअ अर्याललगायतको लगातारको प्रयासपछि शर्माको परिवारले ५० लाख रुपैयाँ ब्लडमनि मागेको थियो । ५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि कठिन नै थियो । प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर यादवका लागि ब्लडमनि जुटाउन जिल्लामै पहल गर्दा सम्भव होला भनेर आग्रह गरे, तर त्यहाँबाट पहल हुन सकेन । त्यसपछि प्रजिअ अर्यालले रुपन्देहीमै सहयोग जुटाउन पहल गरे ।

उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलगायतसँग उनले कुरा गरे र एउटा कोष बनाउने सल्लाह भएको थियो । प्रजिअ अर्यालले ५० हजार, दुई जना सहायक प्रजिअ र रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५–२५ हजार रुपैयाँका दरले कोषमा जम्मा गरे ।

जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो । रामआशिष यादवकी श्रीमती रेणुकुमारीले १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख रुपैयाँ जुटाइन् । कुल ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीतालाई दिएपछि मिलापत्र भएको प्रजिअ अर्यालले बताए ।

Comment


Related News

Latest News

Trending News