अपडेट 
२०८१ भाद्र ११, मंगलवार ०७:३३

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको साढे दुई महिनापछि पदाधिकारी चयन गरिएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार चयन गरेका पदाधिकारीहरुमध्ये रकम चेम्जोंग सहअध्यक्ष बनेका छन् । उनी सहअध्यक्षमा महाधिवेशनमा उम्मेदवारी दिएका थिए । तर चुनाव जित्ने उनको सम्भावना न्यून थियो । सहअध्यक्षका लागि सर्वाधिक प्रतिनिधिको समर्थन पाएका राजकिशोर यादवलाई उपाध्यक्षमा झारिएको छ ।

संशोधित विधान अनुसार ५ जना उपाध्यक्षमा यादवसहित, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर र विद्युत बज्राचार्य रहेका छन् । तर उपाध्यक्षमा भने महिलालाई स्थान दिएको छैन । त्यसैगरि महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई मनोनित गरिएको छ । उपाध्यक्ष रहिसकेका राउतलाई एकतह तल झारेर महासचिवमा र हालै पार्टी प्रवेश गरेका शर्मालाई महासचिवमा नियुक्त गरिएको छ । शर्माको नियुक्तिप्रति पार्टीमा व्यापक असन्तुष्टि देखिएको छ ।

अध्यक्ष यादवले प्रकाश अधिकारी , दीपक कार्की र रेखा यादवलाई उपमहासचिव नियुक्त गरेका छन् । अधिकारी सिरहाबाट, कार्की धनुषाबाट र यादव मोरंगबाट प्रतिनिधित्व गर्छन् । त्यसैगरि सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्दिन राईलाई नियुक्त गरिएको छ । भने कोषाध्यक्षमा सुरिताकुमारी साहलाई अध्यक्ष यादवले चयन गरेका हुन् ।

गत वर्ष जसपा नेपालमा प्रवेश गरेकी साह प्रदेश सरकारमा पटक पटक मन्त्री बनेकी हुन् । उनलाई कोषाध्यक्षमा मनोनित गरेपछि पार्टीका पुराना नेताहरु असन्तुष्ट देखिएका छन् । महोत्तरीबाट जसपा नेपाल तत्कालै प्रवेश गरेर ठूला पद पाउनेमा महासचिव शर्मा र कोषाध्यक्ष साह छन् । उनीहरुलाई पदाधिकारीमा चयन गरिएपछि कयौं नेताहरुले मोबाइलको स्वीच अफ गरी बसेका छन् ।

उच्चस्रोतका अनुसार अध्यक्ष यादवले कोषाध्यक्ष बनाउनेमा विश्वस्त रहेका ठेकेदार बलराम महतो निराश भएका छन् । ‘हारेको सहारा, हमारा बारा’ को नारा दिएर उपचुनावमा उपेन्द्र यादवलाई जिताउने बारा जिल्लालाई पदाधिकारी र कार्यकारिणी समितिमा कुनै स्थान नदिइ लोप्पा खुवाएको छ । मधेश प्रदेशको निवर्तमान मुख्यमन्त्री केन्द्रीय समितिमा सीमित भएका छन् ।

विगतमा उनी कार्यकारिणी समितिमा रहेका थिए । सप्तरीबाट नराम्ररी पराजित भएका अध्यक्ष यादवलाई बाराको उपचुनावबाट भारी मतले विजयी गराइएको थियो । त्यसपछि उनी स्वयं उपप्रधानमन्त्री बनेको कारण पार्टी विभाजित भएको यथार्थ रहेको छ । जसपा नेपालमा अध्यक्ष यादवले एकपटक काम लिएपछि बिर्सिने गरेको आरोप बाराका पार्टी कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

मधेश प्रदेशका चर्चित अर्थमन्त्री सञ्जय कुमार यादव पनि केन्द्रीय समितिमा सीमित भएका छन् । मुद्दा लागेर समस्यामा रहेका पूर्व कोषाध्यक्ष विजय यादवलाई केन्द्रीय सदस्यमा समेत स्थान दिएको छैन । अध्यक्ष यादवले केन्द्रीय समितिहरु गठन गर्नुका साथै रिक्त रहेका २७ जना केन्द्रीय सदस्यको समेत मनोनयन गरेका छन् । पार्टीको संशोधित विधानमा केन्द्रीय समितिमा कूल २ सय ४१ सदस्य रहने र महिला ३३ प्रतिशत रहने प्रावधान छ ।

Comment


Related News

Latest News

Trending News