अपडेट 
२०८१ भाद्र १२, बुधबार ०८:१०

तस्करका कारण मधेशको वन रित्तिन थालेको छ । मधेश प्रदेश सरकारलगायत विभिन्न सरोकारवालले वृक्षरोपणका नाममा अभियान संचालन गरेको देखिए पनि विभिन्न जिल्लामा वनहरु रित्तिने क्रम बढ्दै गएको देखिन्छ ।

सरकारको तथ्यांक अनुसार वन क्षेत्र बढिरहेको देखाए पनि भारतसँग सीमा जोडिएका तराई–मधेशका जिल्लामा रूख कटान र तस्करी निकै मौलाएको छ । गत जेठ ७ र ८ गते पर्साको गादीमाई साझेदारी वन पुग्दा ३० भन्दा बढी रूख कटान गरिएको स्थितिमा थियो भने कतिपयका ठूटा मात्रै फेला परेको थियो । काटिएकामा अधिकांश सिसौ, खयर र सखुवाका रुखहरु छन् ।

झण्डै चार हजार १५० हेक्टर क्षेत्रफलमा रहेको सो वनमा करिब २५ प्रतिशत सिसौ–खयर र ५० प्रतिशत सखुवाको रुखले ओगटेका छन् । पछिल्ला दिन ती रूख व्यापक मात्रामा कटान गरी तस्करी हुने गरेका छन् । गादीमाई साझेदारी वन अन्तर्गत सबैभन्दा धेरै रूख सोनवर्षामा छ भने त्यसपछि कोइलाभार विन्दवासिनीमा काटिएका छन् ।

ग्लोबल ल्यान्ड एनालाइसिसले समेत गादीमाई वन क्षेत्रमा अत्यधिक फँडानी भएको देखाएको छ । गादीमाई वन व्यवस्थापन समितिका अध्यक्ष सहरूम गदी सोनवर्षा र कोइलाभार विन्दवासिनी क्षेत्र तस्करले सखाप पार्न लागे पनि वनका कर्मचारी अनुगमनमै नजाने गरेको गुनासो गरे ।

प्रदेश वन निर्देशनालय धनुषाका अधिकृत शिवशंकर झा गादीमाई वन क्षेत्रको कटान आफूहरूको जानकारीमै नरहेको बताए । डिभिजन वन कार्यालय पर्साको वार्षिक प्रतिवेदनमा पनि सो वनको काठ चोरी–निकासी हुने गरेको उल्लेख छ । पर्सामा गादीमाई, विन्दवासिनी बढनिहार र सबैया गरी तीन वटा साझेदारी वन पर्छन् ।

बढनिहार र सबैयामा पनि रूख कटान जारी नै छ । तीनै वनको काठ मनवा, सिद्धिपुर, बढनिहार फेन्टी खोला, करजनिया खोला, बढनिहा बजारबाट उत्तरका नाकाहरूबाट चोरी–निकासी हुने गरेको डिभिजन वनको प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्लाहीकै बासिन्दा रहेका साझेदारी वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रजनीकान्त झाले वनमाफिया र परियोजनाका कर्मचारीकै मिलेमतोमा सागरनाथ वन अतिक्रमण भएको बताए ।

परियोजना अन्तर्गत पर्ने सर्लाहीको सागरनाथ, हातीलेट र मूर्तियाका वनमा ठूलो परिमाणमा खयर र साल काटिएका छन् । सो परियोजनामा सखुवा, सिसौ, मसला जस्ता छिटो हुर्कने बिरुवा रोपेर काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा शुरू गरिएको छ । सरकारी तथ्यांकमा बढेको देखाइए पनि मधेशको वन पहिलेको तुलनामा करिब ५० प्रतिशतले घटेको उनको भनाइ छ ।

वनविज्ञ नागेन्द्रप्रसाद यादवले २०७३ असार १८ मा प्रस्तुत गरेको एक कार्यपत्रले त्यस वेला तराईमा वन विनाशदर ०.९६ प्रतिशत रहेको र प्रतिवर्ष करीब सात हजार १०० विघाका दरले मासिंदै गएको टिप्पणी गरे । प्रदेश वन निर्देशनालय धनुषाले आर्थिक वर्ष ०७९÷०८० सम्म जिल्ला अदालतमा वन पैदावार सम्बन्धी कुल ९३१ वटा मुद्दा दायर भएको जनाएको छ ।

सोक्रममा वन पैदावार कटान र तस्करीमा संलग्न ५२३ जना पक्राउ परेका छन् । यीमध्ये २९ जना विरुद्ध मुद्दा दायर गरिएको छ । सबैभन्दा बढी काठ कटान र तस्करी बारा, पर्सा र रौतहटमा हुने गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकले रौतहटमा पछिल्ला वर्ष अवैध रूपमा काटिएको काठ बरामद हुने दर बढिरहेको देखाउँछ ।

सो आर्थिक वर्ष ०७५/०७६ मा १८४ क्युफिट काठ बरामद भएकोमा आर्थिक वर्ष ०८०/०८१ मा बढेर ८७४.५२ क्युफिट पुगेको छ । यता पर्साको गादीमाई साझेदारी वन संरक्षण तथा अनुगमनको जिम्मा रंगपुर सबडिभिजन र वसन्तपुर सबडिभिजन मातहत पर्छ । तर यी कार्यालयले स्थानीयस्तरमा भइरहेको फँडानी र तस्करी रोक्न चासो देखाउने गरेको छैन ।

समिति अध्यक्ष सहरूम गदी आफूहरूले वनबाट दैनिक ३०० क्युफिटसम्म काठ बरामद गर्ने गरेको बताउँछन्। उनका अनुसार समितिले केही समयअघि एक हजार ३०० क्युफिट काठ सहित तस्कर समातेर वन कार्यालयमा बुझाएको बताए । प्रभावकारी अनुगमनका लागि वन कार्यालयबाट बजेट र आवश्यक सुरक्षा नपाएको उनको भनाइ छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेलो सरकार, वन मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला वन सबैतिर रूख कटान र तस्करीबारे निवेदन दिए पनि कतैबाट सहयोग नपाएको दाबी उनले गरे ।

नेपालको तराईमा साझेदारी वन व्यवस्थापन : नीति र अभ्यास अध्ययनले धनुषामा सामुदायिक वनको सुरक्षामा खटिएका उपभोक्ता र तस्करको झडप हुँदा तीन जना मारिए भने चार जना गम्भीर घाइते समेत भएको देखाएको छ । त्यस्तै ०७७ माघ २० मा बाराको पिपरा बजारमा तस्करसँग झडप हुँदा तस्करले वनका चार कर्मचारीलाई घाइते बनाउनुका साथै हतियार लुटेका थिए त्यस्तै पर्सा, सर्लाही, रौतहट लगायत जिल्लाबाट विभिन्न बहानामा काटिएका काठ भारत पु¥याउने गरिन्छ ।

गादीमाई वन व्यवस्थापन समिति अध्यक्ष सहरुम गदीले काठ सिमानाको बाटो हुँदै पारि लगिने गरेको बताउँछन् । पर्सामा मात्र प्रतिमहीना करिब ५० लाख रुपैयाँ मूल्य बराबरको काठ तस्करी भइरहेको डिभिजन वन कार्यालयको केही वर्षअघिको तथ्यांकले देखाएको थियो । तस्करीको काठ ओसार्न तस्करको समूहले विभिन्न उपाय लगाउने गरेका छन् ।

२०८१ वैशाख ३० मा वन गस्ती टोलीले रौतहटको चन्द्रनिगाहपुरबाट तीन गोलिया काठ लैजाँदै गरेको भारतीय एचआर६सी ६२४८ नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिएको थियो । गस्ती टोलीसँग आमनेसामने भएपछि चालक गाडी छाडेर फरार भएका थिए ।

Comment


Related News

Latest News

Trending News