महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युलाई नेकपा माओवादी केन्द्रले रहस्यमय भएको भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।
३५ वर्षीय यादवको आइतबार विहान महोत्तरीको बर्दिबास नगरपालिका–८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो । वडा अध्यक्ष यादवको शवको टिचिङ अस्पताल काठमाण्डुमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि सोमबार साँझ गाउँमै ल्याएर वडा अध्यक्ष यादवको शवको अन्त्यष्टि गरिएको थियो ।
नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड् काले वडा अध्यक्ष यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्रै नभएको दाबी गरेका छन् । उनले घटनाको प्रकृति हेर्दा दुर्घटना अस्वाभाविक रहेको भन्दै इन्चार्ज खड्काले महोत्तरी प्रहरीसंग घटनाको गहिरो छानबिन गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले घटनाको सूक्ष्म ढंगले अनुन्धान भइरहेको बताए ।
उनले प्रारम्भिक अनुसन्धान अनुसार घटना हेर्दा मोटरसाइकल दुर्घटनामा नै यादवको मृत्यु भएको जस्तो देखिएको बताए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामै उहाँको मृत्यु भएको जस्तो देखिन्छ,’ पोखरेलले भने, ‘तर, दुर्घटना कसरी भयो भनेर हामी अनुसन्धान गर्दै छौँ । घटनास्थलमै कुकुर लगेर पनि हामीले अनुसन्धान गरेका छौँ। पोस्टमार्टम रिपोर्ट आएपछि धेरै विषय खुल्दै जालान् ।’ बर्दिबास नगरपालिका– ८ मा पर्ने बर्दिबास–जलेश्वर सडक खण्डको कल्भर्ट मुनी आइतबार विहान यादवको शव फेला परेको थियो । घटनास्थल नजिकै वडाअध्यक्ष यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो ।
वडा अध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । रामगोपालपुरका स्थानीयवासीसमेत रहेका पूर्व सभासद लालेन्द्र मण्डलले वडा अध्यक्ष यादवको मृत्युलाई स्वाभाविक मान्न नसकिने दाबी गरे । उनले भने, ‘म आइतबार बिहान प्रहरीसँगै घटनास्थलमा गएको थिए । जुन ठाउँमा घटना भएको छ, त्यो ठाउँमा बाइक ‘एक्सिडेन्ट’ भएको जस्तो देखिँदैन,’ मण्डलले अघि थप्दैँ भने, ‘त्यहाँको सबै प्रकृति हेर्दा दुर्घटना सुनियोजित जस्तो लाग्छ। घटना भएको सयम पनि यकिन छैन ।
सीसीटीभी फुटेज हेर्दा शनिबार दिउँसो बर्दिबासका दुई होटलमा वडाध्यक्ष यादवसँगै देखिएका अन्य चारजनाको गतिविधि पनि शंकास्पद देखिन्छ ।’ घटना हुँदा कसिलो गरी लगाएका गोल्डस्टार जुत्ता खुट्टामा नहुनु, तर मृतकको शरीरमा पनि ठूलो चोटपटक नदेखिनुले घटनामा शंकास्पद रहेको उनको तर्क छ । उनले भने, ‘चालकको मृत्यु हुनेगरी मोटरसाइकल दुर्घटना हुँदा त्यसका पाटपुर्जा छरपस्त हुनुपर्ने हो, शरीरमा पनि ठूलो चोट देखिनुपर्ने हो, कुनै गह्रौँ बस्तुले मोटरसाइकल र मान्छेको छात्तीमा प्रहार गरेको जस्तो देखिन्छ ।’ घटना हुनु अघि वडा अध्यक्ष यादवसंगै अन्य चारजना शनिबार दिउँसो बर्दिवासका दुईवटा होटलमा बसेको प्रहरी अनुसन्धानले देखाएको छ । तर, ती चारजना को थिए खुलेको छैन । उनले भने, ‘शनिबार दिउँसोदेखि रातिसम्म बर्दिबासका दुईवटा होटलमा उनीहरु खाजा खाएर बसेको देखिन्छ, जहाँ दुईजना युवती पनि छन्,’ माओवादी नेता मण्डलले भने, ‘सीसीटीभी फुटेज हेर्दा त्यहाँ उनीहरुबीच वादविवाद भएको देखिन्छ। हामीले ती चारजनालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई भनेका छौँ ।’ दिउँसो बर्दिबासको होटलमा देखिएका यादव कतिबेला घर गए खुलेको छैन । दुर्घटना भएको यकिन समय पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
तर घटनाको प्रकृति हेर्दा बर्दिबासबाट शनिबार राति रामगोपालपुरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । वडा अध्यक्ष यादवका पत्नी, एक छोरा र एक छोरी छन् । वडा अध्यक्ष यादवको मृत्युको कारण अहिले रामगोपालपुर शोकमा डुबेको छ ।