
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरूको सरकार रहेको आरोप लगाएका छन् । काठमाण्डुमा मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताएका छन् ।
प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाएका छन् । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रूपमा चल्न नसकेको गुनासो गरेका छन् । राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरेर डुबाउन लागिपरेको उनले आरोप लगाए । अध्यक्ष साहले भने, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ ।

जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईँहरूबाट ?
यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’ उनले वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै तेस्रो जनअन्दोलनको आवश्यकता रहेको बताए ।
आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार र बुधबारसम्म चल्ने कार्यतालिका रहेको छ । सो बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए ।