अपडेट 
२०८१ भाद्र १३, बिहीबार १७:०२

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले दिवा खाजावापत दिने गरेको १५ रुपैयाँ ‘अपुग’ रहेको बताएकी छिन् । जनकपुरधाममा बिहीबार आयोजित वृहत्त विद्यालय सुरक्षा सम्बन्धी प्रदेशस्तरीय बाल मेलामा बोल्दै मन्त्री तिवारीले अहिलेको समयमा १५ रुपैयाँमा कस्तो खाजा हुन्छ भन्दै प्रश्न गरिन् ।

खाजावापतको रकम थप गर्नको लागि मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई आग्रह गरेको छु, मन्त्री तिवारीले भनिन्–तर, यस वर्षको बजेटमा समावेश गर्न कठिनाइ हुने जवाफ पाएको छु । चालु आर्थिक वर्षको बजेट आइसकेपछि मात्रै आफूले जिम्मेवारी सम्हालेको सम्झिदै मन्त्री तिवारीले दिवाखाजाको रकम १५ रुपैयाँमा प्रदेश सरकारले थप गर्नुपर्ने तर्क गरिन् ।

बालबालिकाको स्वास्थ्यको सुरक्षा प्रदेश सरकारको जिम्मेवारी रहेकाले दिवाखाजालाई स्तरीय बनाउन रकम थप गर्नुपर्ने मन्त्री तिवारीले भनिन् । विद्यालयलाई सुरक्षित बनाउन जस्तापाता विस्थापित गर्न लागिएको जानकारी दिदै मन्त्री तिवारीले जस्तापाताको कक्षाकोठालाई पक्की भवनमा परिणत गर्ने कार्य अघि बढाइसकेको बताइन् ।

मधेश प्रदेश बाल क्लव संजालका सलमा खातुनका अध्यक्षतामा भएको मेलामा मन्त्री तिवारीले बालबालिकाको सुरक्षाको मध्यनजर गरेर प्रदेश सरकारले विद्यालय नर्स, स्वच्छ खानेपानी, आराम कक्ष, शौचालय निर्माण गरेको बताइन् ।  विद्यालयमा बालबालिकाका लागि घरको जस्तो वातावरण बनाउनुपर्ने जिकिर उनले गरिन् । बालबालिकाले घरको जस्तो वातावरण महशुस गरे उनीहरुको शिक्षण सिकाई उपलब्धी वृद्धि हुने विश्वास मन्त्री तिवारीले व्यक्त गरिन् ।

प्रदेश सरकारले शिक्षा नीति ल्याउनको लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ, उनले भनिन्–शिक्षा नीति ल्याउनको लागि एक समितिसमेत गठन गरेर छलफल बढाएको छ । विद्यालय सुरक्षाप्रति प्रदेश सरकार गंभीर रहेकाले आफूले यसको लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत मन्त्री तिवारीले गरिन् ।

मेलामा प्रदेशसभा सदस्य रामअशिष यादवले सरकारको उदासिनताले शिक्षा क्षेत्र धारासायी बनेको बताए । दुनियाँले सबैभन्दा बढी शिक्षालाई प्राथमिकता दिइरहेको छ, उनले भने–हाम्रो देशमा सबैभन्दा कम शिक्षामा खर्च गरिएको छ । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकको सम्मान जरुरी छ, यादवले भने–शिक्षकले नै योग्य नागरिक उत्पादन गर्छन् । उनीहरुलाई हतोत्साहित गरेर शिक्षा क्षेत्रको विकास सम्भव नरहेको यादवले जिकिर गरे ।

सो अवसरमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षा नीति बनाइदिनको लागि प्रदेश सरकारसित आग्रह गरे । आफूहरुले पनि शिक्षा क्षेत्रमा सुधार चाहेको छु, उनले भने–तर, आवश्यक नीति अभावमा गर्नुपर्ने धेरै काम हुन सकेको छैन् ।

रौतहटको राजदेवी नगरपालिकाका शिक्षा शाखा अधिकृत विजय सिंहले पालिकाको सबै विद्यालयहरुमा सुरक्षा सम्बन्धी नीति ल्याएको जानकारी दिए । आराम कक्षसहित विद्यालय सुरक्षाको मध्यनजर गरेर आवश्यक सबै कार्यक्रमहरु संचालन गरेको सिंहले बताए ।

बाल मेलामा धनुषाको धनौजी गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र रौतहटको राजदेवी नगरपालिकाका ५७ वटा विद्यालयका बालबालिका सहभागी रहेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक विजय यादवले बताए ।

युनिसेफको सहयोगमा आसमान नेपालले आयोजना गरेको विद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरीय बाल मेलामा शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतो, शिक्षा विकास निर्देशनालयका किशोरी कापर, आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, कार्यक्रम निर्देशक दिनेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News