अपडेट 
२०८१ भाद्र १६, आईतवार ०८:१७

गत भदौ १२ गते मध्यरात सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई जोगाउनका लागि सप्तरी प्रहरीले चलखेल गर्न थालेको छ ।

उनीहरूले मारेको पुष्टि भइसकेको बँदेललाई बेवारिसे भन्दै सप्तरी प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चोरी सिकारीमा संलग्न रहेकाहरूलाई जोगाउने खेल सुरु गरेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले गत बुधबार मध्यरात हतियारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका पूर्वडीआईजी शाह र विराटनगर–३ घर भएका बहालवाला सई न्यौपानेलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–८ घर भएका पूर्वउपसभामुख यादवका छोरा बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दासलाई समेत पक्राउ गरिएको थियो । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरेको थियो ।

सप्तरी प्रहरीले उनीहरूको साथबाट २२ क्यालिवरको राइफल एका, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक थान बरामद गरेको थियो । त्यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्र्याक्टर र प्र ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियोसमेत नियन्त्रणमा लिएको थियो ।

हतियार र बँदेलसहित नियन्त्रणमा लिइएकालाई बुधबार राति नै घटनास्थलबाट छोड्न जिल्ला र इलाका प्रहरी कञ्चनपुरका उच्च अधिकारीले दबाब दिएका थिए । तर पक्राउ गर्ने टोलीका कमाण्डर सप्तरी प्रहरी निरीक्षक मिश्रले गैरकानुनी कार्य गर्नेलाई छोड्न नमिल्ने भन्दै मारिएको बँदेल, हातहतियार, सवारी साधन र पूर्वडीआईजीसमेत १० जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएका थिए ।

सो घटना त्यत्तिमै साम्य भएन, पूर्वडीआईजी शाहसहितलाई जोगाउन प्रहरी निरीक्षक मिश्रलाई बँदेल बेवारिसे फेला परेको प्रतिवेदन दिन जिल्ला प्रहरी प्रमुख बज्राचार्य र इलाका प्रहरी प्रमुख नेपालले दबाब दिएको प्रहरी स्रोतले बताएको छ । आफूले अवैध चोरी शिकारी गर्दै गरेको अवस्थामा मारिएको बँदेलसहित नियन्त्रणमा लिएकाले बेवारिसे फेला परेको झुटो विवरण समेटेर प्रतिवेदन नदिने प्रहरी निरीक्षक मिश्रले अडान लिएपछि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी वरिष्ठ नायब निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक कृष्ण राजवंशी र प्रहरी हबलदार युगेश्वर खत्वेसँग संयुक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीनै जनाले आफूहरूको नेतृत्वमा खटिगएको प्रहरी टोलीले ट्र्याक्टरमा लोड अवस्थामा बँदेल फेला परेको उल्लेख छ । तर सो प्रतिवेदन विपरीत इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले आफ्नो कमाण्डमा खटिगएको प्रहरी टोलीले ट्रैक्टर र मृत बँदेल फेला परेको दाबी पत्र पठाएका छन् । सवडिभिजन वन कार्यालय कञ्चनपुरमा बेवारिसे भन्दै बुझाइएको ट्रैक्टर र बँदेलसँग इलाका प्रहरी कार्यालय कञ्चनपुरले पठाएको पत्रमा डीएसपी महेन्द्र नेपालले आफ्नो कमान्डमा प्रहरी टोली खटिगई ट्रैक्टर र बँदेल फेला परेको दाबी गरेका छन् । तर प्रहरी नायब उपरीक्षक नेपाल आफैले हस्ताक्षर गरी सवडिभिजन वन कार्यालयमा पठाएको पत्र स्वीकार गरेनन् ।

सो दुवै प्रतिवेदनमा दाबी गरिए अनुसार राती खटिएको प्रहरी टोलीको कमान्डर उनीहरू नरहेको जनाइएको छ । बँदेललाई बेवारिसे भनेर सव डिभिजन वन कार्यालयमा बुझाएपछि मृत बँदेलको पोस्टमार्टम समेत नगरी हतार–हतारमा गाडिएको थियो । कानुन अनुसार मृत बँदेलको पोस्टमार्टम गरिनु पर्ने थियो । सव डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर सन्तोष यादवले पोस्टमार्टम नगरी बँदेल गाडिएको स्वीकार गरे ।

‘कानुनतः पोस्टमार्टम गरि नुपर्ने हो तर गर्न नसकिएको उनले भने । यता बँदेल बेवारिसे देखाएर गाडिएपछि चोरी सिकारी गर्दै पक्राउ गरिएका पूर्वडीआईजी शाह, बहालवाला सई न्यौपाने, पूर्वउपसभामुखका छोरा आकाशसमेत १० जनालाई बिहीबार साँझ जिम्मा जमानीमा छोडिएको छ । उनीहरूलाई बँदेल मारेको घटनाबाट अलग गरी राती हिँडडुल गरिरहेको अवस्थामा अनुसन्धानका लागि ल्याएको भन्दै छोडिएको थियो ।

पक्राउ गरिएकासँग पक्राउ गरिएको २२ क्यालिबरको राइफल पूर्वडीआई शाहको नाममा अनुमति प्राप्त रहेको सप्तरी प्रहरीले दाबी गरेको छ । तर, तीन दिन बित्दा पनि अनुमति पत्रको सक्कल प्रति पेस हुन गरिएको छैन ।

Comment


Related News

Latest News

Trending News