अपडेट 
२०८१ भाद्र १७, सोमबार ०७:५९

धनुषाको बटेश्वर गाउँपालिकामा निर्माणधीन प्रसूति भवन (बर्थिङ सेन्टर) चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

भवन सम्झौता विपरीत भएको भन्दै ठेकेदार कम्पनीलाई पालिकाले भुक्तानी दिएको छैन भने कम्पनीले पनि तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीकै मौखिक आदेशमा काम गरेको दाबी गर्दै आएको थियो । पछिल्लो समय पालिकाले पनि बजेट नछुट्याए पछि निर्माणाधीन प्रसूति भवन चार वर्षदेखि अलपत्र रहेको छ ।

प्रसूति गराउन बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्न भन्दै जेठ २०७६ मा पूर्वअध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सुरु गरेको थियो । तर निर्माण सुरु भएको एक वर्षभित्र सक्ने गरी सम्झौता भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । आकृति निर्माण सेवा काठमाडुले एक करोड ६ लाख १४ हजार २५५ रुपैयाँ ९३ पैसामा प्रसूति भवन निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनीसँग पालिकाले ५ जेठ २०७६ मा आकृति निर्माण सेवाको सम्झौता भएको थियो ।

भवन निर्माणको प्रक्रिया भने ३० फागुन २०७५ मा पालिकाले अगाडि बढाएको थियो । २०७७ जेठ १६ गते सम्म निर्माण कम्पनीले ४८ लाख ८३ हजार ४४८ रुपैयाँ भुक्तानी पाइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । पहिलो किस्ता १० माघ २०७६ मा २८ लाख ३३ हजार २३७ रुपैयाँ र दोस्रो किस्ता १६ जेठ २०७७ मा २० लाख ५० हजार २११ रुपैयाँ । त्यसपछि भवन निर्माणको काम अघि बढेको छैन । पालिकाका इन्जिनियर जितेन्द्र यादवले निर्माणधीन भवनमा इस्टिमेटभन्दा बाहिरको काम निर्माण कम्पनीले गरेपछि भवन निर्माण नै प्रभावित बनेको छ ।

यसमा समन्वन गर्न पनि पालिकाले चासो नदिएको सरोकारवालाले आरोप लगाए । बटेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष राउतको मौखिक आदेशमा निर्माण कम्पनीले इस्टिमेटमा नभएको इँट्टाको भित्ता हालेको छ ।

गाउँपालिकाका अनुसार ठेकेदार कम्पनीले सम्झौता विपरीत १८ लाख रुपैयाँ मूल्य बराबरको इँट्टा हालेको छ । २०७९ मा चुनाव जितेपछि पालिकाका अध्यक्ष रामआशीष महतोले प्रसूति भनवप्रति चासो दिएका छैनन् ।

निर्माण कम्पनीका सञ्चालक रामकृपाल महतोले पालिकाले बजेट छुट्याउन छाड्दा समयमा काम गर्न नसकेको बताए । निर्माणाधीन प्रसूति भवनले पूर्णता नपाउँदा पालिकाका महिलाहरूलाई चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानु पर्ने बाध्यता रहँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News