अपडेट 
२०८१ भाद्र १८, मंगलवार ०८:००

अनियमितता र भ्रष्टाचारको अखाडा बन्दै गएको वीरगञ्ज महानगरपालिकामा पुनः एक वडा अध्यक्षले घुस मागेको आरोप लागेको छ ।

मधेश प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिले कागज प्रमाणित गर्न कमिशन मांगेको पीडित पक्षको आरोप छ । किर्ते नागरिकता प्रकरण,ट्रेक्टर घोटाला काण्ड,माइस्थान मन्दिर सौन्दर्यकरणमा भएको भ्रष्टाचार र अनियमितता तथा शिक्षक दरबन्दीमा देखिएको परिवारवाद, विद्यालयमा पंखा खरिद काण्ड पछि लेनदेनको कारण प्रमाणित गर्न वडाध्यक्षले कमिशन मांग गरेको घटना उजागर भएको छ ।

लेनदेन सम्बन्धी कपाली तमसुक प्रमाणित गर्न वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश साहले सेवाग्राहीसंग घुस माँगेको पीडित पक्षको आरोप छ । लेनदेन सम्बन्धी कपाली तमसुक प्रमाणित गराउन जाँदा प्रहरी मार्फत विपक्षी ऋणी झिकाउने देखि सर्जमिन समेत गराएर रसीद काटे पनि कमिशन नदिएको कारण वडाध्यक्षले आफ्नो कागज प्रमाणित नगरेको कर्जा दिने साहु रमेश गुप्ताले आरोप लगाएका छन् । उनले भने,‘मुखियाजीले प्रक्रिया पूरा गर्न पटक पटक बोलाउनु भयो तर सबै काम भइसकेपछि कमिशन नदिएको कारण तमसुकमा दस्तखत गर्न मान्नु भएन ।

रमेश गुप्ताले कागज प्रमाणित गर्न आवश्यक कारबाहीको लागि ऋणी वडा नं २८ का हृदयनारायण महतो माथि ८० असार २८ गते वडा कार्यालयमा निवेदन दिएका थिए ।वडा अध्यक्ष जय प्रकाश साहले सो बखत निवेदन बुझेर हृदयनारायणलाई उपस्थित गराउन परवानीपुर प्रहरी चौकीलाई पत्राचार गरे । निवेदन दिएपछि सर्जमिन मुचुल्का समेत गरियो ।साथै सर्जमिनमा कपाली तमसुकका साक्षी वसेका रामनाथ राउत अहिर सर्जमिनमा हस्ताक्षर गरेपछि कागज प्रमाणित गर्न वडा कार्यालयले १ सय ८० रुपैयाँ नगद बुझी रसीद समेत काटेको थियो । तर रसीद काटेपछि कपाली तमसुक प्रमाणित गर्न दलाल मार्फत क्याकुलेटरमा जोडेर लगभग १५ प्रतिशतको हिसाबले ८५ हजार रुपैयाँ घुस मांग गरेको र सो कमिशन नदिए पछि अहिले सम्म कागज वडाध्यक्ष साहले प्रमाणित नगरेको रमेश गुप्ताको आरोप छ ।

यस सन्दर्भमा वडाध्यक्ष जय प्रकाश साहसंग बुझ्दा उनले तमसुक नै जाली भएको शंका लागेपछि आफूले प्रमाणित नगरेको जवाफ फर्काए । उनले भने,‘मैले प्रक्रिया अगाडि बढाएको हो तर त्यो कागज माथि शंका लागेको कारण आफूले प्रमाणित नगरेको हो ।’ तमसुक जाली भएपछि कार्यालयले राजश्व लिनुको साथै प्रहरीमा किन बुझाउनु भएन भने प्रश्नको जवाफमा आफूलाई कानुनी प्रक्रिया जानकारी नभएकोले गल्ती भएको भन्दै फोन नै काटे ।

यता वडाध्यक्षले गरेको मनोमानी र राजश्व समेत लिएर काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा वडाध्यक्षको विरुद्ध उजुरी दर्ता गराउने सेवाग्राही रमेश गुप्ताले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News