नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् ।
बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लान खोजिएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिएको उनको भनाई छ ।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए । प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए । उनले नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए ।
प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजीपति, बिचौलिया र माफियाहरूको पक्षमा छ भन्ने स्पष्ट भएको बताए ।