अपडेट 
२०८१ भाद्र २०, बिहीबार ०८:२९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् ।

जनकपुरधाममा बुधबार आयोजना गरिएको ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ विषयक गोष्ठीमा पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता महतले कांग्रेस–एमालेबीचको सात बुँदे सम्झौतामा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने बताए । ‘प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम छरिरहेको छ’ प्रवक्ता महतले भने– ‘उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फत पनि समावेशिता ल्याउन सकिन्छ ।’ सत्तारुढ गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेदेखि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीयतालाई समाप्त पार्ने गरी संविधान संशोधनको खेल हुन थालेको बताउन थालेका छन् ।

संविधान संशोधनको पक्षधर दलहरु समेत कांग्रेस र एमाले गठबन्धनको सरकारले संशोधन गर्ने विषय उठाउँदा झस्केका छन् । संघीयतालाई समाप्त गर्नुपर्ने विगतमा धारणा सार्वजनिक गरेका नेताहरुको संविधान संशोधनको बोलीले विपक्षी दलहरु त्यसको विरोधमा देखिएका छन् । तर कांग्रेस प्रवक्ता महतले भने, ‘खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेको छ, समावेशितालाई कमजोर गर्न भनेर गरिरहेको छ ।

गलत भाष्यबाट जनतामा भ्रम फैल्याउने कोशिस भएको छ । यो कदापि होइन । समावेशितामा कुनै कम्प्रोमाइज हुँदैन । कुनै सम्झौता हुँदैन । निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ । प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ । यहाँ महिला–महिलाको बीचमा, दलित–दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ । यसरी हामी एउटै दलको बहुमत आउन सक्ने परि स्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ ।’

डा.महतले कार्यक्रममा उल्लेख गरे जस्तो आरक्षणको व्यवस्था कयौं देशहरुमा रहेका छन् । भारतमा स्थानीय चुनावमा आरक्षण रहे पनि राज्य र केन्द्रीय संसदको चुनावमा आरक्षणको व्यवस्था छैन । कांग्रेस र एमालेले पनि समानुपातिक समावेशी व्यवस्था खारेज गर्न आरक्षणको सवाल उठाएको विपक्षीहरुको आरोप छ । संविधान संशोधनका लागि दुई तिहाई बहुमत दुबै सदनमा चाहिन्छ । त्यो माओवादीलगायतका साना दलहरुको साथ बिना सम्भव छैन ।

जसपा नेपाललगायतका केही दलहरुले वर्तमान चुनाव पद्धतिलाई खारेज गरी प्रत्यक्ष राष्ट्रपति र संसदमा पार्टीले चुनाव लड्नुपर्ने व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । हालको चुनावी प्रणाली अत्यधिक महँगो भएकाले क्षमतावान र जनप्रिय भए पनि खर्चको अभावमा चुनावमा पराजित हुने गरेको कतिपय नेताहरुले तितो अनुभव सुनाउने गर्छन् । सो कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादव, प्रदेश सांसद रासमरोज यादव, धनुषाका उपसभापति गणेश झा , निर्मल कुमार चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सो कार्यक्रममा संस्थापन पक्ष बाहेकका कांग्रेस नेता, कार्यकर्ताहरु अघोषित रुपमा वहिष्कार गरेका थिए । त्यसपछि पूर्वमन्त्री डा. महतले पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा डा. महतले कांग्रेस र एमालेबीच भएको सहमति विपरीत दुवै जान जान नसक्ने बताए । उनले सहमतिप्रति एमाले इमान्दार देखिएको बताउँदै देशमा राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको बताए ।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, ललन चौधरी, शिवधारी यादव, प्रवेश चौधरी लगायतका नेताहरुले जिज्ञासा राखेका थिए । प्रवक्ता महतले नेपाली कांग्रेस चुनावमा एमालेसित तालमेल नगर्ने बताउँदै विपक्षी दलहरुले गठबन्धनको विषयमा गलत आरोपहरु लगाइरहेको बताए ।

‘ सरकारमा रहँदाको माओवादी र हटदाको माओवादीको बोलीमा धेरै अन्तर देखिनु अस्वभाविक होइन् ’ उनले भने, दुई ठूला दलहरुलाई अलग राखेर खेल्ने अवसर गुमाएपछिको पीडा हो ।माओवादीलाई जनताले पत्याउन छाडिसकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News