अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले पार्टीलाई संगठनात्मक सुदृढीकरण गर्दै जनतासँगको पहुँचलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
वीरगञ्जमा बुधबार आयोजना गरेको जसपा पर्साको विस्तारित बैठकमा बोल्दै मन्त्री यादवले कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्त र उदेश्यलाई गाउँगाउँ पुगेर जनतालाई बुझाउनका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राख्न आफुहरुको मुख्य एजेन्डा भएको बताए ।
जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा बोल्दै भने, “हामीलाई जनताको मन र विश्वास जित्नु छ, त्यसका लागि हामी सबै जिम्मेवारीपूर्वक काम गर्नुपर्छ, जनताको समस्या हरेक जनप्रतिनिधिको समस्या हो, त्यसैले हामी सधै जनताको साथ र सहयोगको पक्षमा उभिनु पर्छ ।” पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्दै मिसन ०८४ को आवश्यक तयारीबारे पनि चर्चा गरे । मन्त्री यादवले भने, “एकताबद्ध भएर मात्र बढे आगामीको चुनौतीलाई सफलतापूर्वक सामना गर्न सक्छौँ, पाटिैलाई मजबुत बनाउँनुको साथै जनताका विश्वासको नायक बन्नुपर्छ ।” त्यस्तै पर्सा जिल्ला समितिका संयोजक तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भन्नु भयो, “हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनु पर्छ ।” सो बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले मन्त्री यादवको भनाईलाई सकारात्मक रूपमा लिँदै, पार्टीको हितका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, तथा पार्टीका अन्य सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो । सो बैठकमा पार्टीको वर्तमान स्थिति, संगठनात्मक गतिविधि, र आगामी रणनीतिहरूको बारेमा विस्तृत छलफल गरेका थिए । बैठकले आगामी दिनमा जसपाको भूमिकालाई बलियो बनाउने उद्देश्यले विभिन्न योजना र कार्यक्रमहरू अघि सार्ने निर्णय पनि गरेको छ ।
बैठकमा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जसपाका नेता प्रेमचन्द्र पटेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशिल साह कानु, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।